काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आदिवासी जनजातिहरूको अधिकार कानुन निमार्ण गरेर नै सुनिश्चित गर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय आदिवासी तथा जनजाति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति समेत रहेका कानुन मन्त्री गुरुङले २०८० सालभित्र आदिवासी जनजातिहरू हक अधिकार स्थापित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
‘यो विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा आयोगका अध्यक्ष र सम्बन्धीत पदाधिकारीसंग सरकारले बसेर थप छलफल गरेर कानुन निमार्णका विषयमा छलफल गर्ने छ ।र, आदिवासी जनजातिको हक अधिकार, स्थापित गर्नेगरी अगाडी बढ्नेछौं,’ मन्त्री गुरुङले भन्नुभयो ।
आदिवासी जनजाति आयोगले तय गर्ने कार्ययोजना कार्यान्वयनका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने उहाँले बताउनुभयो ।