लुम्बिनी । नवनियुक्त लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले विहिबार पदभार ग्रहण गर्नुभएको छ । बुद्धजन्मस्थल लुम्बिनी स्थित कोषको प्रधान कार्यालयमा नवनियुक्त उपाध्यक्ष लामाले पदभारग्रहण गरी औपचारिक रुपमा कार्यभार समाल्नुभएको हो ।
उहाँलाई कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई लगायतले खादा ओढाएर कार्यालयमा स्वागत गर्नुभयो । उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया स्थित दानव नदी किनारमा बाढीको जोखिममा रहेको कुषाणकालिन इट्टाले बनेको इनारको उद्धार संरक्षण उत्खनन गर्ने निर्णय सदर गर्नुभएको छ ।
पदभारग्रहण अघि कोषका तर्फबाट आयोजित स्वागत कार्यक्रममा बोल्दै लुम्बिनीको गरिमालाई उच्चो राख्दै काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गौतम बुद्ध र मायादेवीलाई साक्षी राखेर लुम्बिनी जस्तो पवित्र ठाउँको बदनाम नगर्ने बताउनुभयो ।
उहाँले आफू लामो समयदेखि बुद्धमार्गमा हिड्दै बुद्धकै सन्देश फैलाउने काम गरेको बताउँदै उपाध्यक्षको भूमिकामा रहँदा लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्रचार गर्ने बताउनुभयो । उहाँले बुद्धजन्मस्थलाई विश्वले नै श्रद्धाका साथ हेर्ने थलो भएकाले यसको गरिमा बढाउने गरि काम गर्न आफू पदाधिकारी, कर्मचारी र स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
उहाँले आफ्नो बुद्धि, विवेक र क्षमताले भ्याएसम्म कुनै पनि प्रकारको गलत काम नगर्ने बताउनुभयो ‘मान्छे हो, कहिलेकाँही बुझाईमा समस्या हुनसक्ला तर, मेरो बुद्धि विवेकले भ्याएसम्म लुम्बिनीको इज्जत जाने कुनै काम गर्ने छैन, व्यक्तिगत लाभ लिने काम गर्नेछैन’उहाँले भन्नुभयो ।
उपाध्यक्ष लामाले विश्वमा मानव रहँदासम्म बुद्ध र लुम्बिनीको महत्व रहने बताउँदै विश्वभरका पर्यटकलाई लुम्बिनी ल्याउने वातावरणका लागि आफूले हालसम्म प्राप्त गरेको अनुभवहरु प्रयोग गर्ने बताउनुभयो । उहाँले लुम्बिनीलाई पवित्र स्थलका रुपमा परिचित बनाउने गरि काम गर्नका लागि पदाधिकारी, कर्मचारी, स्थानीयहरुसँग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
स्वागत कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बौद्धदर्शनमा विद्यावारिधी गरेका अनुभवी व्यक्तिलाई उपाध्यक्षका रुपमा पाएको बताउँदै लुम्बिनी बनाउने काममा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भाषण भन्दा लुम्बिनीका बाँकी गुरुयोजना, लुम्बिनीलाई विश्वभका बौद्धधर्माम्बलम्बीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न काम गरेर नतिजा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एंव पूर्वमन्त्री वकिल मुसलमानले डा.ल्हारकाल लामा काम गर्ने व्यक्ति भएको बताउँदै काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनीको कार्यक्षेत्र ठूलो रहेको र सिमति साधन श्रोतबाट काम भइरहेकाले अब बाँकी कामहरु न्वनियुक्त उपाध्यक्षको नेतृत्वमा हुने विश्वास लिनुभयो । नवनियुक्त लामाको स्वागतमा लुम्बिनी विकास कोषका पदाधिकारी सहित बोर्ड सदस्य, परिषद सदस्य, कर्मचारी र केहि स्थानीयहरुको समेत उपस्थिती रहेको थियो ।
यसअघिका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी)को कार्यकाल साउन ९ गते सकिएपछि प्रचण्ड नेतृत्वको सरकारले साउन १६ गते डा. लामालाई उपाध्यक्षका रुपमा नियुक्त गरेको हो । पूर्व राज्यमन्त्री, संविधानसभा सदस्य समेत रहेका डा. लामा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुनुहुन्छ ।