काठमाडौँ । गत असार ४ गते राष्ट्रिय सभागृहमा एक विशेष कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी जसपा नेपाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताले घोषणा गरेको समाजवादी मोर्चा पुष्पकमल दाहाल प्रचण्डका कारण संकटमा परेको छ ।
समाजवादी मोर्चा गठन गर्नुपर्छ भन्ने डा. बाबुराम भट्टराईलाई शुरुमै बाहिर राख्नु र मोर्चामा सहभागी भएका नेकपा एस र जसपासँगको विश्वास गुमाउँदै जाँदा मोर्चा धरापमा परेको हो । खासगरी नेपाली काँग्रेससँगको बार्गेनिङ पावर बढाउन माओवादीकै नेतृत्वमा गठन भएको सो मोर्चामा सहभागी दलहरुले प्रचण्डको पछिल्लो कार्यशैलीमा विश्वास गर्न नसक्दा यो अवस्था आएको हो ।
मोर्चा गठनको बेला अवधारणापत्रमा प्रधानमन्त्री एवं माओवादीका अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव विप्लवले हस्ताक्षर गर्नुभएको थियो। तर पछिल्लो परिस्थितिमा जसपा र नेकपा एसको विश्वास गुमाउन थालेका छन् ।
नेपाली मौलिकता सहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित मोर्चा गठन गरिएको थियो । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको बाटो तय गर्ने, वर्गीय तथा क्षेत्रीय विभेदको अन्त्य गर्ने, मानव विकास सूचकाङ्कमा पछाडि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्रमुख प्राथमिकता राख्ने, जनताको नागरिक तथा आर्थिक अधिकारको संरक्षण, वित्तीय एकाधिकार तथा दलाल पूँजीवादी अर्थव्यवस्थाको विकल्पमा समाजवादी अर्थतन्त्रको आधार तयार पार्ने मोर्चाको उद्देश्य रहेको जनाइएको थियो ।
तर त्यसलाई प्रचण्डले सत्तामा रहिरहने र काँग्रेस लगायतका दललाई भ्रष्टचारी घोषणा गर्ने आफ्नो दलले राम्रो काम गर्न खोजेको भाष्य निर्माण गर्ने तथा सहयात्रामा रहेका दलका नेताहरुलाई चिढ्याउन थालेपछि प्रचण्डको सरकार पनि धरापमा पर्ने संकेत देखा परेको छ । नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा सहभागी दलहरुलाई हेर्ने प्रचण्ड नजर पछिल्लो दलमा फेरिएको हो कि भन्ने आभाष भएको बताएउँदै ‘सरकारमा आफ्नो दलमात्रै सहभागी छ भन्ने सोच्न थालिएको हो कि भन्ने आभाष भएको छ’, प्रवक्ता खतिवडाले भन्नुभयो ।
जसपा भने खरो रुपमा प्रस्तुत भएको छ । गौर हत्याकाण्ड निकालेर आफूहरुलाई साइजमा ल्याउन खोजिएको भन्दै जसपा अध्यक्ष यादवले आफूहरु चुप लागेर नबस्ने बताएका छन् । गृहमन्त्रीसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले गौर हत्याकाण्डमा जसपाका नेताहरुलाई फसाउने गरी कार्ययोजना बनाएको भन्दै जसपाले सरकारको कार्यशैलीमा असन्तुष्टि जनाएको छ ।