विरगंज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम गरेका कारण वर्तमान सरकार ढाल्न केहि व्यक्तिहरु धुप हालेर हिडेको बताउनुभएको छ । शुक्रबार पर्साको विरगंजमा समाजवादी मोर्चाले आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बिभिन्न प्रकरणको फाइल खोल्नेदेखि बिभिन्न क्षेत्रमा सरकारले राम्रा काम गरेकाले एकथरी मान्छेहरु वर्तमान सरकार ढाल्न धुप हालेर हिडेको बताउनुभएको हो ।
प्रधानमन्त्री प्रचण्डले अव आफुलाई मुलुकका लागि राम्रो बाहेक अरु केहि गर्नु नभएको बताउनुभयो । उहाँले जीवनको उत्तरार्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झने लायक काम गर्ने विचार रहेको भन्दै प्रचण्डले देशका लागि राम्रा काम गरेर ढुक्कसँग मर्ने रहर मात्रै रहेको धारणा राख्नुभयो ।
प्रधानमन्त्री प्रचण्डले समाजवादी मोर्चालाई सुदृढ गर्दै मोर्चाले समाजवादीको क्रान्ति गर्ने स्पष्ट पार्नुभयो । विश्वभरका नेपाली राजदूतहरुलाई काठमाडौं बोलाएर विदेशमा जाने प्रक्रियालाई पारदर्शी तवरले अघि बढाउने निर्णय गरिएको उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय सुशासन र समृद्धिका निम्ती सरकार निरन्तर अघि बढ्ने बताउनुभयो ।