काठमाडौं । संघीयता कार्यान्वयनसँग जोडिएका महत्वपूर्ण ऐन तथा कानुनको निर्माणमा भइरहेको ढिलाइ प्रति मुख्यमन्त्रीहरुले चिन्ता व्यक्त गर्दै तत्काल प्रक्रिया अगाडि बढाउन र सङ्घीयतालाई बलियो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभएको छ ।
नागरिकलाई घर आँगनमै सहजरुपमा सेवासुविधा उपलब्ध गराउने उद्देश्यले ल्याइएको सङ्घीय प्रणाली पनि प्रक्रियामा फस्दै गएको, महत्वपूर्ण कानून निर्माणमा भइरहेको ढिलाई प्रति चासो व्यक्त गर्दै मुख्यमन्त्रीहरुले गत असारमा पोखरामा सम्पन्न राष्ट्रिय समन्वय परिषद्को बैठकले गरेका निर्णय पनि तत्काल कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ५१ औँ बैठकमा सहभागी हुँदै मुख्यमन्त्रीहरुले प्रदेश सरकारलाई सबल नबनाइ र हालकै अवस्थामा चल्ने अवस्था सिर्जना भए थप जटिलता पैदा हुने धारणा राख्नुभएको थियो ।
प्रहरी समायोजन ऐन कार्यान्वयनमा आउन नसक्दा प्रदेश सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको भन्दै मुख्यमन्त्रीले तत्काल सो ऐन कार्यान्वयनमा ल्याई प्रदेश सरकारलाई प्रहरी परिचालनको अधिकार दिन समेत माग गर्नुभयो । सङ्घीय संसदको अघिल्लो कार्यकालमा नै पारित भएको सो ऐन कार्यान्वयन हुन सकेको छैन ।
त्यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सुरक्षा र प्रशासन बिना प्रदेश सरकार सबल हुन नसक्ने भएकाले तत्काल प्रहरी समायोजना ऐन अनुसार प्रहरी परिचालन गर्ने अधिकार प्रदान गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
मुख्यमन्त्री चौधरीले सङ्घबाट प्रदेशमा पठाइएका योजनाको स्रोत व्यवस्थापन हुन नसक्दा लामो समयदेखि आयोजना अलपत्र परेको गुनासो गर्नुभयो । यस्तै उहाँले लुम्बिनी विकास कोष र राष्ट्रिय निकुञ्जहरुसँग पनि प्रदेश सरकारले समन्वय र सहकार्य गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो ।
पाँच दश लाख रकमका योजना समेत सङ्घीय सरकारको कार्यक्षेत्रमा राखेर सङ्घीयतालाई विद्रुप पारिएका आपत्ति प्रकट गर्दै आगामी आर्थिक वर्षदेखि यस्ता विषयलाई तत्काल सम्बोधन गर्न मुख्यमन्त्री चौधरीले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले तत्काल प्रहरी समायोजन ऐनले गरेको व्यवस्था अनुसार प्रहरी समायोजन गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउनुभयो । उहाँले सङ्घीय निजामति ऐन, सङ्घीय शिक्षा ऐनलगायतका महत्वपूर्ण ऐन ल्याउन र प्रदेश सरकारलाई सबल बनाउन आग्रह गर्नुभयो ।
नागरिकलाई सहज रुपमा सेवा प्रदान गर्न अबलम्बन गरिएको प्रणालीलाई सहज र सबल बनाउन पनि महत्वपूर्ण कानुन छिटो निर्माण हुनुपर्नेमा ढिलाइ भएकाप्रति उहाँले गुनासो गर्नुभयो ।
त्यस्तै कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले गत असारको सुरुआतको प्राकृतिक विपदका कारण आफ्नो प्रदेशमा ठूलो जनधनको क्षति भएपनि हालसम्म प्रभावितले राहत नपाएकामा गुनासो गर्नुभयो । उहाँले कोशी प्रदेशको धरानलगायतका स्थानमा डेङ्गुको चरम समस्या देखिएकाले तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी उपचारको प्रबन्ध गर्न माग गर्नुभयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आर्थिक मन्त्री भएपनि सङ्घीय सरकारले साविककै बजेट ल्याइएको भन्दै आफ्नो प्रदेशमा भने यर्थाथवादी बजेट ल्याएको बताउनुभयो । आफ्नो प्रदेशको बजेट शतप्रतिशत कार्यान्वयन गराउने योजनाका साथ लागिपरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले प्रभावकारी रुपमा कर्मचारीको प्रबन्ध गरिदिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नुभयो ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णाली प्रदेशको समग्र विकासका लागि विशेष आर्थिक प्याकेजको प्रबन्ध गर्न माग गर्नुभयो । उहाँले पनि प्रहरी समायोजन ऐनलाई व्यवहारिक रुप दिई प्रदेशलाई बलियो बनाउनुपर्ने धारणा राख्नुभयो । यस्तै, कर्णाली प्रदेशका हालसम्म पनि सहज रुपमा बिजुली उपलब्ध हुन नसकेको उल्लेख गर्दै निर्माणाधिन एक सय ३२ केभी क्षमताको प्रसारण लाइन शीघ्र निर्माण सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन ऐन तत्काल कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारी परिचालनमा देखिएको समस्या समाधान गर्ने गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काम गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री भने अनुपस्थित हुनुुहुन्थ्यो ।