रुपन्देही । प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले चार दल मिलेर बनेको समाजवादी मोर्चा नेपाल शक्ती केन्द्र बन्ने दाबी गर्नुभयो । मंगलबार बुटवलमा आयोजना गरिएको समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिगामी शक्तिहरुलाई परास्त गर्नका लागि शक्ति केन्द्रको निर्माणलाई जोड दिन समाजवादी मोर्चा निर्माण गरिएको स्पष्ट पार्नुभयो । साथै उहाँले आगामी दिनमा सडकमा समाजवादीको ठूलो जनमत प्रर्दशन गर्ने जनाउँदै मोर्चालाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मोर्चालाई विचलित गराउन विभिन्न शक्ति केन्द्रहरु लागेकाले फुटाएर तुहाउने षड्यन्त्र विरुद्ध मोर्चालाई थप बलियो बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले परिवर्तनलाई उल्ट्याउन केही तत्वहरुले दुस्साहस गरिरहेकाले एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले पटक पटक संविधान मिचेर संसद विघटन गरेर देशलाई बर्बादी तिर लैजाने केपी ओली नेता हुन नसक्ने भन्दै ओलीलाई नक्कली नेताको संज्ञा दिनुभयो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले एक्लै लडेर यो लडाई जित्न नसकिने बताउदै लोकतन्त्रलाई कमजोर बनाउन जातीय,धार्मिक द्वन्द्व फैलाउने देखी विभिन्न बहानामा प्रतिगामी तत्वहरु सब्बलाउने काम भइरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभयो ।
जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्ने टिम यहि मोर्चामा रहेको जिकिर गर्दै समाजवादी गणतन्त्र रुपान्तरण गर्नका लागि मोर्चाबन्दी गरिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारले भ्रष्टाचार र सुशासनका पक्षमा काम गरेको जिकिर गर्नुभयो ।