काठमाडौं । नेकपा माओवादी केन्द्रको ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान शनिबारबाट सुरु हुँदैछ । २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर सुरु गर्न लागिएको अभियानको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्द्रागिरि नगरपालिका-२ स्थित भट्टेडाँडाबाट देशभर एकसाथ अभियानको सुरु भएको घोषणा गर्ने माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।
शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै सापकोटाले अभियानका क्रममा माओवादी जनताको घरघरमा जाने र आसन्न २०८४ सालको निर्वाचनको नतिजालाई प्रभाव पार्ने उद्देश्यसहित अभियान सञ्चालन हुने बताउनुभयो ।
त्यस्तै उहाँले एमसीसीको व्याख्यात्मक घोषणालाई सार्वभौम सम्पन्न संसदले पास गरेको भन्दै सम्झौताको अंग बन्नुपर्ने जिकिर गर्नुभयो । एमसीसीमा व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाए मात्रै सहज कार्यान्वयन हुने उहाँको भनाइ छ ।
सापकोटाले चीनले हालै जारी गरेको नक्सामा नेपालका भू-भागलाई नसमेटिएको बिषयमा प्रधानमन्त्रीको चीन भ्रमणका बेला कुरा हुने बताउनुभयो । त्यस्तै उहाले अहिले गठबन्धनमा कुनै समस्या नआएको धारणा राख्नुभयो ।