बुटवल। नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएकाे छ । सम्पन्न मतपरिणाम अनुसार उहाँले ४७९ मत प्राप्त गर्नुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी प्युठानका हरि रिजालले ४७७ मत पाउनु भएकाे छ । दुई मत अन्तरले कँडेल निर्वाचित भएका अध्यक्ष मण्डलका सचिव सूर्य थापाले बताउनुभयाे।
उपाध्यक्षमा रूपन्देहीका भोजप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएकाे छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी रिजाल समुहका बिश्वराज बराल अनुपले ३०६ मत पाउनुभयो। पुरुष उपसचिवमा रिजाल समुहका रोल्पाका पुर्ण बुढा मगरले ४१८ मत पाएर बिजयी हुनुभयो भने उहाँका प्रतिद्धन्द्धी बांकेका दुर्गा प्रसाद थारुले ३९३ मत पाउनुभयो।
त्यसैगरी महिला उपसचिवमा कंडेल समुहकै बर्दियाकी लिला राना मगर ३५२ मत ल्याएर बिजयी हुनुभएकाे छ भने रिजाल समुहकी बांकेकी बसन्ती अधिकारीले ३५१ मत ल्याउनु भएको थियो। पदाधिकारीमा एक उपसचिव बाहेक अरु सबै पदमा राधाकृष्ण कँडेलकै प्यानलका उम्मेदवारहरु विजयी भएका छन्।
सचिवमा लक्ष्मण आचार्य सहित भूगोलतर्फ १२ मध्ये ८ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । सचिव आचार्य पनि कंडेल पक्षका हुनुहुन्छ । राधाकृष्ण कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल निकट हुनुहुन्छ भने हरि रिजाल महासचिव शंकर पोखरेल निकटका हुनुहुन्छ । एक हजार ५ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ४० जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।