काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा राजनीतिक दलहरुसँग छलफल गर्नुभएको छ। आइतबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार प्रधानमन्त्रीले बैठकको आव्हान गर्नुभएको हो। बैठकमा पूर्वप्रधानमन्त्रीहरू, राजनीतिक दलका शीर्ष नेताहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू लगायतका नेताहरु सहभागी थिए।
छलफलमा नेताहरूले छिमेकीहरूसँग सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्न विशेष जोड गर्नुपर्ने, विगतका सम्झौताहरू कार्यान्वयनको अवस्थाबारे समीक्षा जरूरी रहेको, दुबै देशले एक–अर्काको सुरक्षा लगायत दुईपक्षीय चासोका विषयहरूमा ध्यान दिनुपर्ने, नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वासमा लिनुपर्ने, नेपालले लाभ लिन सकिने विषयहरूमा राम्रो गृहकार्य गरेर भ्रमणमा जानुपर्ने लगायतका विषयहरूमा ध्यान दिनुपर्ने सुझावहरू दिएका थिए।
छलफलमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्रीले दाहालले भन्नुभयो, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो। यहाँ तपाईंले जुन सुझावहरू दिनुभएको छ। प्राप्त सुझावहरू महत्वपूर्ण छन्।