प्युठान । दश बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेला सम्पन्न भएको छ । भेलाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न माग गर्दै पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र, निष्पक्ष पत्रकारितालाई आत्मसाथ गरी समुन्नत समाज निर्माणका लागि समयानुकूल व्यवसायिक पत्रकारितालाई प्रवर्द्धन गर्नुपर्ने ठहर गरेको उल्लेख गरिएको छ ।
लुुम्बिनी सञ्चार समन्वय परिषद त्रुटीरहित तथा समावेशी ढंगले पुनःगठन र रजिष्ट्रारको नियुक्त गरी मिडिया सम्बन्धि सबै काम सोही परिषदमार्फत गर्ने व्यवस्था मिलाउन माग गर्दै प्रदेश सञ्चार ऐन अपूर्ण र त्रुटीपूर्ण भएकाले संशोधन गर्न भनिएको छ ।
पत्रकारहरुको पेशागत सुरक्षाका लागि पत्रकार बीमा, स्वास्थ्य बीमा जस्ता कल्याणकारी कार्यक्रमहरु लागू गर्न प्रदेश सरकार सक्षम माग गरिएको छ । लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले वितरण गर्ने विज्ञापनको रकम वृद्धि गरी सामानुपातिक वितरण प्रणाली अवलम्बन गर्न माग गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पत्रकार महासंघको सदस्यता शुद्धिकरण र नयाँ सदस्यता मापदण्डका सन्दर्भमा प्रेस युनियन लुम्बिनी पूर्णरुपमा कार्यान्वयनको पक्षमा रहेको तर, प्रदेशका केही जिल्लामा सांगठनिक पूर्वाग्रह राखेर कार्यान्वयन गरेको देखिएकाले त्यसलाई तुरुन्त सच्चाउन माग गरिएको छ । साथै युनियनमा पनि शुद्धिकरण अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरिएको छ ।
लुम्बिनी प्रदेशका मिडियालाई सबल बनाएमा मात्र मिडियाकर्मी र पत्रकारिताको सुरक्षा हुने भन्दै साना लगानीका मिडियाको व्यवस्थापन र सवलीकरणमा सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
नेपाल प्रेस युनियनको केन्द्रीय समितिले घोषणा गरेको पत्रकार प्रशिक्षण बर्ष २०८० पूर्णरुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता ब्यक्त गरिएको छ । लुम्बिनी प्रदेशका महत्वपूर्ण धार्मिक, प्राकृतिक र सांस्कृतिक क्षेत्रहरुको प्रचारप्रसार, संरक्षण र संबद्र्धनमा प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै मिडियामार्फत पर्यटन प्रबद्र्धनको मुद्दालाई उच्च प्राथमिकता दिने प्रतिबद्धता जनाइएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश कार्यसमितिको आयोजना तथा प्यूठान शाखाको आतिथ्यतामा भदौ २२ र २३ गते दुई दिने प्रदेशस्तरीय भेलालाई सफलतापूर्वक सम्पन्न गर्न पवित्र धार्मिकस्थल प्यूठानको स्वर्गद्वारीमा लुम्बिनी प्रदेशस्तरीय भेला र विस्तारित वैठक सम्पन्न भएको महासचिव गिरीले बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले भेलाको उद्घाटन गर्नुभएको थियो भने विस्तारित बैठकको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले गर्नुभएको थियो ।
भेलामा नेपाली काँग्रेस लुम्बिनीका सहमहामन्त्री निमा गिरी, प्रदेश सदस्य अमर भण्डारी, प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलीप पौडेल, केन्द्रिय सदस्यहरू, जिल्लाका अध्यक्ष एवं पदाधिकारी, पत्रकार महासंघ प्रदेश पदाधिकारी, जिल्ला अध्यक्ष लगायतको उपस्थिति थियो ।
प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षता एवम् केन्द्रीय अध्यक्ष शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको बन्दसत्रले १० बुँदे स्वर्गद्वारी घोषणापत्र जारी गरेको हो ।