काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आसन्न चीन भ्रमणका क्रममा सम्बोधन हुने खालका एजेन्डा मात्रै उठाउन विज्ञहरुले सुझाव दिएका छन् ।
आफ्नो चीन भ्रमणको पूर्व सन्ध्यामा आज अपरान्हपूर्व राजदूत, पूर्व परराष्ट्र सचिव र परराष्ट्र विज्ञसँग छलफल गरेका प्रधानमन्त्रीलाई विज्ञहरुले, दुई देशको परम्परागत सम्बन्धलाई ख्याल गर्दै पुरा हुने एजेन्डा मात्रै उठाउन सुझाव दिएको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो ‘चीन भ्रमणका लागि सल्लाह र सुझावका लागि आमन्त्रण गर्नुभएको थियो । त्यसमा आउनु भएका हाम्रा पूर्व सचिवज्यूहरु, परराष्ट्र सचिवज्यूहरु र राजदुतज्यूहरुले दुई देशको बीचमा परम्परागत रुपमा घनिष्ट सम्बन्ध रही आएको दुईवटै देशको बीचको सम्बन्धलाई सुदृढ गर्नका लागि डेलिभरेवल र भायवल कार्यक्रमहरु मात्रै राखेर अघि बढ्दा उपयुक्त हुने, दुई देशको बीचको सम्बन्ध सुमधुर रही आएको र त्यसलाई चै निरन्तरता दिने कुरामा नै जोड दिनुभएको छ ।’
विज्ञहरुको सुझावलाई प्रधानमन्त्रीले अत्यन्तै चासो र गम्भीरतापूर्वक लिनु भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीज्यूहरुले तीचासोहरुलाई अत्यन्तै चासोका साथलिनु भएको छ । ’यसअघि आज आइतबार बिहान नै प्रधानमन्त्रीले दलका प्रतिनिधिहरूसँग छलफल गरेका प्रधानमन्त्रीले आइतबार अपरान्ह विज्ञहरुसँग चीन भ्रमणका विषयमा छलफल गर्नुभएको थियो ।
प्रधानमन्त्री प्रचण्ड आगामी असोज ४ गते चीन भ्रमणमा जाँदै हुनुहुन्छ । उहाँ न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम तय भएको छ ।