काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाउनुभएको छ । तेजाव आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको तर्क गर्नुभयो । ‘सरकार तस्करीमा संलग्न हुन्छ । तस्करहरुलाई समर्थन गर्छ । सरकार कमिशनखोरीमा डुब्छ । जनताका समस्या हेर्दैन् ।’
उहाँले भन्नुभयो ‘जनता पीडामा छन् । म सरकारलाई सुझाव दिन चाहान्छु अनेक किसिमका स्टन्टबाजी होईन्, भ्रष्टाचार नगर्नु, भ्रष्टाचार रोक्नुस, कमिशनखोरी बन्द गर्नुस्, जनताका समस्या समाधान गर्ने, सुशासन दिने, विकासका बाटो तर्फ लाग्ने काम गर्नुस् ।’ उहाँले तेजाव आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यस्तो कार्य कही पनि कसैले पनि आक्रमणको सामना गर्न नपरोस, कोही पनि यस्तो अपराध गर्न प्रोत्साहित नहोस र कसैले गरे कडा सजाय दिने व्यवस्था गर्नुपर्छ । तेजाव आक्रमणका पीडितको कुरा सुनेर सरकार गम्भीर भएर लाग्नु पर्छ, यसको लागि उपचार सरकारले निशूल्क गरोस् ।’ राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन उहाँले सञ्चार माध्यमलाई सुझाव दिनुभएको छ ।
उहाँले भन्नुभयो ‘यो तेजाव आक्रमण विरुद्धको दिवसमार्फत हामीले मानवीय भावना, जागरण फैलाउँन पनि जरुरी छ । अर्को कुरा दण्ड सजायको कडा व्यवस्था छ भन्ने कुराको प्रचार पनि गर्न जरुरी छ । थप अपराध रोक्नका लागि हामीले यस प्रकारको प्रचार गर्न आवश्यक छ । ’