काठमाडौं । गृह मन्त्रालयले चार जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो)सहित १० सहसचिवको सोमवार सरुवा गरेको छ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै केही सहसचिव र रुपन्देही, दाङ, बाग्लुङ, भक्तपुर र महोत्तरी गरी पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गर्नुभएको छ।
जसमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव रुद्रसिंह तामाङलाई अध्यागमन विभागको महानिर्देशक बनाइएको छ। प्राधिकरणमा गृहका सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ।
सहसचिव गणेश अर्याललाई रुपन्देही, रामबन्धु सुवेदीलाई दाङ, शिवराम गेलाललाई महोत्तरी तथा रोशनीकुमारी श्रेष्ठलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी तोकिएको छ।
त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन प्रमुखमा गोगनबहादुर हमाललाई पठाइएको छ। हमाल यसअघि दैलेखमा प्रमुख जिल्ला अधिकारी हुनुहुन्थ्यो।
प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सहसचिव भरतमणि पाण्डे, दीपककुमार पहाडी र खगेन्द्रप्रसाद रिजाल मन्त्रालयमा सरुवा हुनुभएको छ ।