काठमाडौँ । एमाले उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई एमाले पार्टी कार्यालय च्यासल लगिएको छ । शिक्षण अस्पतालमा रहेको नेम्वाङको पार्थिव शरीरलाई आज दिनभर एमाले मुख्यालय च्यासलमा राखिने भएको छ ।
नेम्वाङका दुई छोरामध्ये एक अष्ट्रेलियामा र अर्का बेलायतमा रहेका कारण उनीहरू फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार गरिने भएको छ । नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको हो ।
उहाँको अन्तिम संस्कार मुन्धुम संस्कृति अनुसार पूजाआजा गरेर गरिने बताईएको छ । नेम्वाङको गएराति आफ्नै निजी निवास बालुवाटारमा हृदयाघात भएको थियो । सरकारले नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।