काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले संघीय राजधानीको सहरी क्षेत्रमा सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताउनुभएको छ ।
बिहिबार काठमाडौंमा आयोजित संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्को प्रथम परिषद् बैठकमा उहाँले प्रतिनीधिहरूको सरसल्लाह र सहकार्यबाट धेरै काम गर्न सकिने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘प्राधिकरणले गर्ने ९० प्रतिशत कामलाई बजेट नै चाहिँदैन । हामी प्रतिनीधिहरूले नै सल्लाह र सहकार्य गरेर गर्न सक्छौं ।
बजेटको सन्दर्भमा पनि यो प्राधिकरण नभएर धेरै वटा प्रोजेक्टहरू आएका छन्, जसलाई हामीले लिन सकिरहेका छैनौं ।’ उहाँले प्राविधिक रूपमा के के गर्न सकिन्छ भन्ने कुरा आगामी बैठकमा ल्याउने गरी प्रस्ताव पेश गर्नुभएको छ ।
मेयर शाहले संघीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्ले लिएको नीतिहरूलाई सरकारले बिकेन्द्रिकृत गर्न खोजेको तर त्यो सबै पालिकाले गर्न सक्ने बताउनुभएको छ ।