काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवस, २०८० को अवसरमा नेपाली बालबालिका तथा अभिभावकहरूमा शुभकामना दिनुभएको छ ।
शुक्रबार राष्ट्रपति पौडेलले शुभकामना सन्देश जारी गर्दै हरेक वर्ष भाद्र २९ गते बालबालिकाको राष्ट्रिय पर्वको रूपमा राष्ट्रिय बाल दिवस मनाइँदै आएको बताउनुभएको छ । सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ्, ‘नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ ।
संविधानले गरेको मार्गदर्शनबमोजिम बालबालिका सम्बन्धी ऐन, २०७५ र बालबालिका नियमावली, २०७८ पनि जारी भई कार्यान्वयनको अवस्थामा रही बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयहरूमा उल्लेखनीय कार्यहरू समेत हुँदै आएका छ ।’
बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहलगायत सम्पूर्ण सरकारीर गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय एवम् अन्य सरोकारवाला निकायहरूको एकीकृत र समन्वयात्मक भूमिकाको अहम दायित्व हुन आएको उहाँको भनाई छ ।
केही बालबालिकाहरू अझै पनि आफ्नो बालअधिकारबाट वञ्चित भएको अवस्था छ भन्दै उहाँले बालबालिका भविष्यका कर्णधार रहेकाले उनीहरूको उचित संरक्षण र रेखदेख सबैको कर्तव्य रहेको बताउनुभएको छ ।