चितवन । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यवसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २–१७८ औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । समारोहमा तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै उहाँले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको समिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतिलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने चर्चा गर्दै आफ्नो कर्तव्यलाई अर्जुन दृष्टि सम्झेर तल्लीन भएमा व्यवसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गर्नुभयो ।
प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैंगिक संवेदनशीलता,जोखिममा रहेका वर्गहरुको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यवसायिकता समेत झल्काउने उहाँले बताउनुभयो ।
प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन् गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् ।
कानूनले तपाईका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईका निर्णयहरूलाई निर्देशित गर्दछ । संगठनप्रति वफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु ।’कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो ।
तालिम संयोजक प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ(आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।
उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।
