काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणको अनुसन्धान भद्दा मजाक जस्तो देखिएको टिप्पणी गर्नुभएको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको भन्दै अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘जुन आशा र अपेक्षाका साथ अनुसन्धान गरियो, त्यो अनुसन्धानका कुराहरु हेर्दा एउटा भद्दा मजाक जस्तो भयो । मैले त्यतिखेरै भनेको थिएँ कि ३ दिनपछि यो प्रकरण अनुसन्धानमा पुग्यो । त्यो समय किन दिइएको ? संदिग्ध मान्छेहरुलाई भाग्ने समय दिइयो कि ? मोबाइल फम्र्याट गर्ने समय दिइयो कि के गरिएको भन्ने थियो ? मलाई दुःख लागेको छ । सत्तारुढ दलका नेताहरुको नाम आउने बित्तिकै जुन ढंगले त्यो अनुसन्धान त बम होला भन्ने सोचेको थिएँ त्यो पटका पनि भएन । सलाईको काँटी जति पनि पड्किएन ।’
उहाँले गृह मन्त्री नारायणकाजी श्रेष्ठले कन्फिडेन्ट प्रहरीलाई दिन नसक्नुभएको हो कि ? पार्टी भित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो भन्दै प्रश्न गर्नुभयो । राजनीतिक हस्तक्षेपले प्रहरीले मिडियाको सहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको हो कि भन्ने प्रश्न पनि उहाँले गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘जति पनि नामहरु आए उनीहरुले आफूले प्रयोग गर्ने फोन दिएनन अर्को फोन दिए भन्ने कुरा सार्वजनिक भएको छ । प्रहरी केही गर्न चाहन्छ, राजनीतिक हस्तक्षेप भयो, के भयो कुन्नी मिडियाको सहारा लिएर ट्रायल गरेर सूचना लिक गर्ने बाध्यतामा पुगेको छ ।
त्यो कन्फिडेन्ट गृहमन्त्रीज्युले प्रहरीलाई दिन नसक्नुभएको हो कि ? अथवा पार्टी भित्रको दबाब तपाईले थेग्न नसक्नुभएको हो ?’ सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको उहाँको आरोप छ ।