काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले, सरकारको नेतृत्व गर्ने दलको नाताले कांग्रेसले देश संकटमा छ भन्न नसुहाउने टिप्पणी गर्नुभएको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा उहाँले, नेतृत्व गर्ने अनि देश संकटमा छ भन्ने ? भन्दै देश संकटमा नभई कांग्रेसको जिम्मामा भएको बताउनुभयो ।
उहाँले भन्नुभयोे ‘देश संकटमुक्त कहिले हुन्छ ? हाम्रो नेतृत्वमा संविधान बनायौ, हामी सबैभन्दा ठूलो दल भएका छौँ, ३३२ पालिका, सात प्रदेशमा हामी, मुख्यमन्त्री हाम्रो, प्रधानमन्त्री हाम्रो सबै हाम्रो हातमा हुने अनि हामीले देश संकटमा छ भन्ने देश संकटमा छैन्, हाम्रो जिम्मामा छ ।’
त्यस्तै उहाँले संघीयताको संरक्षणका लागि पार्टीले भूमिका खेल्नु पर्ने बताउनुभएको छ । कांग्रेसले नै संघीयता संरक्षणको नेतृत्व गर्नु पर्ने उहाँको भनाई छ । ‘हामीलाई यो पाँच वर्षमा जनताकै तहबाट संघीयता चाहिन्छ भन्ने अवस्थामा पुर्याउनु छ । हामीले ध्यान दिनुपर्दैन् ।
हामी नैतिक पक्ष रहेर शासनले पाएको जिम्मेवारी पूरा गरेम् भने कुनै कुराले हामीलाई तलमाथि गर्न सक्दैन् । सबै कुराहरुबाट माथि उठ्न सक्ने ताकत नेपाली काङ्ग्रेस भित्रै छ ।’ त्यस्तै उहाँले शिक्षा विधेयकमार्फत सार्वजनिक शिक्षाको अवस्था सुधारका लागि काम गर्नु पर्ने बताउनुभयो ।
‘हामीले संसदमा शिक्षा विधेयक दर्ता गरेका छौ, त्यसमा मुख्य कुरा भनेको सार्वजनिक शिक्षाको अवस्था सुधार गर्नुपर्ने कुरा हो ।’ उहाँले भन्नुभयो ‘यो सम्बन्धमा शिक्षकको आत्मसम्मान नभईकन, पेशा मर्यादित नभइकन, शिक्षकलाई सन्तुष्ट नबनाईकन शिक्षा राम्रो हुदैँन । शिक्षकहरुसँग सरकारले सम्झौता गरेको छ त्यो राम्रो हो तर एउटा कुरामा छलफल गर्नुपर्छ शिक्षक र पार्टीको सम्बन्ध के हो ।’
उहाँले कानूनले शिक्षक राजनीतिज्ञ हुन पाउँदैन भनेर प्रष्ट भनेको भन्दै पेशा छोडेर राजनीति गर्छु भन्नेलाई ठाउँ दिनु पर्ने उहाँको तर्क छ । ‘कानूनले स्पष्ट भन्छ शिक्षक राजनीतिज्ञ हुन पाउँदैन् भनेर, हामी प्रष्ट हुनुपर्छ । तर शिक्षकहरु आफ्नो पेशा छोडेर राजनीतिमा आउने कुरा गर्छ भने हामीले त्यो ढोका खोल्नु पर्छ । यो विषयमा शिक्षकहरु र पार्टी दुवैजनाले स्पष्ट धारणा राख्नुपर्छ । शिक्षक पार्टीको सदस्य भएर आउन चाहनुहुन्छ भने पार्टीले त्यसमा पहल गर्नुपर्छ । ’