काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरूको महान् पर्व इन्द्रजात्राको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहेका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नु भएको छ ।
विहीबार शुभकामना सन्देश जारी गर्दै काठमाडौं उपत्यकासहित अन्य विविध स्थानमा मनाइने इन्द्रजात्रा पर्व परम्पराकाल देखि मनाउँदै आइएको ऐतिहासिक सांस्कृतिक पर्व भएको बताउनु भएको हो ।
शुभकामना सन्देशमा लेखिएको छ, ‘नेपालीहरूको महान् पर्व इन्द्रजात्राको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेवार समुदाय लगायत समस्त नेपालीहरूमा सुख, शान्ति, समृद्धि, राष्ट्रिय एकता एवं निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।’
वर्षा र सहकालका इन्द्रको पूजा आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने यो जात्रा लिंगो (ध्वजा) स्थापना एवं विविध धार्मिक एवं सांस्कृतिक कर्महरू सहित धुमधामपूर्वक मनाइन्छ।
नेपालका ऐतिहासिक एवं सांस्कृतिक पर्वहरूमध्ये यो पर्व सबैभन्दा पुरानो एवं रोमाञ्चक पर्वसमेत मानिने उहाँको भनाई छ ।
उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त विविधता एवं सानो भूगोलभित्र प्राकृतिक विविधता र गहिरो भावनात्मक एकता भएको सुन्दर मुलुक हो।
सभ्यता, धर्म, संस्कृति, चाडपर्व एवं रहनसहनमा विविधताले हाम्रो वैभवशाली इतिहास र वर्तमानलाई प्रतिबिम्बित गर्दै आएको बताउनुभयो ।