काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री दिलेन्द्र बडुले, प्राविधिक रुपले प्रचण्ड प्रधानमन्त्री भए पनि सरकारको नेतृत्व काङ्ग्रेसले नै गरेको तर्क गर्नुभएको छ । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको संकल्प, उत्साह, एकता र रुपान्तरण विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उहाँले, अहिले पनि देशमा जनताले आशा गरेको पार्टी काङ्ग्रेस मात्रै भएको दाबी गर्दै सरकारमा सबैभन्दा ठूलो हिस्सा काङ्ग्रेसको रहेको बताउनुभयो ।
‘पछिल्लो सरकारको नेतृत्व पनि काङ्ग्रेसले गरेको थियो । अहिलेको सरकार पनि प्राविधिक रुपले प्रचण्डजी प्रधानमन्त्री हुनुहोला तर नेतृत्व हाम्रो छ । हाम्रो सबैभन्दा ठूलो हिस्सा यो सरकारमा छ ।’ उहाँले भन्नुभयो, ‘तर पनि हामी के गर्दै छौ, हामीलाई जनताले हेरिरहेको छ । तर हामीले कामले देखाउन सकेनौ भने हाम्रो भाषणमा विश्वास गर्ने क्रम सकिदैँ छ । अहिले पनि यो देशमा जनताले आशा गरेको छ भने फेरि काङ्ग्रेसबाटै हो ।
काङ्ग्रेसले मात्रै हो यो मुलुकको एउटा समाधान दिन सक्ने, अहिलेको निराशाको अवस्थामा पनि । ,’पार्टी आफ्नो विधान अनुसार नभई मनमोजी केही नेतृत्वको खटनपटनमा चलेको भन्दै आउँदो वर्षमा पार्टी विधान अनुसार चलाउँने प्रक्रियामा अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कमि भनेको केन्द्रीय समितिमा नै रहेको छ, केन्द्रीय समिति र सभापतिले गरिसक्नु पर्ने कार्ययोजना अनुसार काम भएको छैन् त्यसकारण समग्रमा सुधारका लागि पनि यो रुपान्तरण हो भन्ने मलाई लाग्छ ।’ रुपान्तरण कार्य गर्ने सबैभन्दा सक्षम टोली बनाउन लागौं, त्यसपछि मात्रै संकल्पलाई पूर्णतामा पुर्याउने चरणमा पुग्ने पनि उहाँको भनाई छ ।