Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

मादल बनाउने पेसा सङ्कटमा


२२, कात्तिक २०८०
  • 257
    SHARES
  • मादल बनाउने पेसा सङ्कटमा

    दाङ । घोराही उपमहानगरपालिका–१४ स्वर्गद्वारी आश्रम टोल निवासी ६५ वर्षीय जुठे वादीलाई कुनै समय नयाँ मादल बनाउन र पुराना मर्मत गर्न भ्याइनभ्याइ हुन्थ्यो । अहिले तिहारको समयमा पनि सोचेअनुसारको व्यवसाय चल्न नसकेको वादीले बताउनुभयो ।

    विगतका वर्षहरुमा गाउँदेखि सहरसम्म तिहारमा भैलो खेल्नहरु मादल किन्न आउने हुँदा दैनिकी नै मादल बनाएर बित्ने गरेको उहाँले सुनाउनुभयो । यो वर्ष तिहार नजिकिँदै गर्दा पनि हालसम्म मादल बिक्री हुन नसकेको उहाँले दुखेसो पोख्नुभयो ।

    केही वर्षअघि सम्म चाडपर्वको समयमा नयाँ मादल बेचेर नभ्याउने गरेको स्मरण गर्दै वादीले भन्नुभयो, “प्रविधिको विकाससँगै पछिल्लो समय मादलको बिक्री ह्वात्तै घटेको छ । यो वर्ष अहिलेसम्म छ/सात मादल बिक्री भएको छ ।” साढे चार दशकभन्दा बढी समय मादल बनाएर बिक्री गर्ने पेसा गर्दै आउनुभएका उहाँ पछिल्लो समय बिक्री नहुँदा मादल र बाँसुरी बनाउने पेसा नै सङ्कटमा पर्छ कि भन्ने चिन्ता लाग्न थालेको उहाँले बताउनुभयो ।

    करिब एक दशक अघिसम्म तीज, दसैँ र तिहारलगायत चाडपर्वमा ग्राहकलाई मादल पुर्‍याउन धौधौ पर्ने बताउँदै वादीले चाडबाडमा मात्रै एक लाखसम्म आम्दानी हुने गरेकामा अहिले वर्षभरि बिक्री गर्दा पनि ५०/६० हजार नपुग्ने जानकारी दिनुभयो ।

    प्रविधिको विकासले मानिसका हातहातमा मोबाइल आएपछि आफूहरुको मादल तथा बाँसुरी बनाउने पुर्खौली पेसा नै सङ्कटमा पर्न थालेको वादीले बताउनुभयो । “अहिले सबैका हातहातमा मोबाइल छन् । त्यसैबाट गीत बजाउन सकिने भएपछि तिहारमा मादलभन्दा डेग खोजेर नाच्न थालेका छन्”, उहाँले भन्नुभयो, “यसले मौलिक बाजा बजाएर रमाइलो गर्ने परम्परासँगै हाम्रो पेसासमेत सङ्कटमा परेको छ ।”

    गाउँघरमा जम्मा भएर नाचगान गर्नेभन्दा पनि डेगबाटै गीत बजाएर नाच्ने संस्कारको विकासले मौलिक कला संस्कृतिसँगै मादल, बाँसुरी बनाउने पेसा सङ्कटमा परेको उहाँको भनाइ थियो ।

    उहाँको जस्तै दुखेसो छ स्वर्गद्वारी टोलका ५० वर्षीय रामप्रसाद वादीको पनि । कुनै समय मादल बिक्री गरेर पाँचजनाको परिवार पाल्ने गर्नुभएका रामप्रसादले पछिल्लो समय घर बनाउने मिस्त्रीको काम गर्न थालेको बताउनुभयो । प्रविधिको विकासले जातीय तथा सांस्कृतिक पेसाका रुपमा रहेको मादल बनाउने पेसा नै लोप हुने अवस्थामा पुगेकामा उहाँले चिन्त व्यक्त गर्नुभयो । 

    विगत छ वर्षदेखि मादल बनाउनाका साथै फुर्सदको समयमा घर बनाउने काम गर्दै आएको रामप्रसादले जानकारी दिनुभयो । “पहिले मादल बनाउँदै बिक्री गरेर परिवार पाल्न सकिन्थ्यो । अरू काम गर्नु पर्दैन थियो । वर्षभरि नै मादल बनाउने र बिक्री गर्ने काम गरिन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले मादलको बिक्री घटेको छ । चाडपर्वको समयमा मात्रै बनाउने गर्ने गरेको छु ।”

    चाडपर्वसँगै सांस्कृतिक कार्यक्रमहरुमा मौलिक बाजाभन्दा बढी प्रविधिमा आधारित साउन्ड सिस्टम (डेग), हातहातमा मोबाइलले सुविधा दिन थालेपछि स्थानीय कच्चापदार्थ प्रयोग गरेर बनाइने मादल बिक्री हुन छोडेको रामप्रसादले बताउनुभयो । “मादल मर्मत गर्न आउने लगभग हराइसकेका छन् ।

    कोहीकोही नयाँ किन्न आउनुहुन्छ”, उहाँले भन्नुभयो, “मादल बनाएर मात्रै जीविकोपार्जन नहुने भएपछि अन्य काम गर्न बाध्य छौँ ।” मादल बनाउन आवश्यक पर्ने कच्चापदार्थ  खमारीको काठ, खरीलगायत सामग्री पाउन पनि समस्या हुने गरेको उहाँको भनाइ थियो ।

  • गाउँ गाउँ मा बिद्यार्थी लाई रोबोटिक्स अनि एआइ सिकाउदै युबा बैज्ञानिक : शम्भु आचार्य

    रूपन्देही। विद्यार्थीमा विज्ञान, प्रविधि तथा कृत्रिम बौद्धिकता (एआई) प्रति रुचि, जिज्ञासा र वैज्ञानिक सोच अभिवृद्धि

  • अर्घाखाँची कांग्रेसमा सहमतिको लहर : ६ पालिकामा नयाँ नेतृत्व, चार सभापति निर्विरोध

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीका ६ वटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै

  • मालारानी अधिवेशनमा मुस्कान प्रदेश सभापतीमा , खनाल र भुसाल प्रदेश "क" को सभापतिमा उमेदवारी घोषणा

    अर्घाखाँची । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल ‘मुस्कान’ले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend