Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम


२३, माघ २०८०
  • 221
    SHARES
  • धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम

    नवलपरासी । पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । 

    नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को त्रिवेणीधाम नजिकै रहेको यस पौराणिक भूमिमा दैनिकरूपमा दर्शनार्थी आउने गरेका वाल्मीकि आश्रमको हरिहर मन्दिरका पुजारी रामशरण गिरीले जानकारी दिनुभयो । 

    नेपाली भूमिबाट आश्रम पुग्न सडक सञ्जाल निर्माण नभएको अवस्थामा समेत दर्शनार्थीको राम्रो उपस्थिति हुने गरेको जनाउँदै उहाँले स्थालमार्गबाट नेपालसँगै जोड्न सकेमा अझै आकर्षक गन्तव्य बन्ने छ भन्नुभयो ।

    “नवलपुरको त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालनमा आउनसक्यो भने त्रिवेणी आएका धेरै तीर्थयात्री यहाँ आउनुहुन्छ”, उहाँले भन्नुभयो, “झोलुङ्गे पुल तरेपछि करिब एक घण्टाको पैदलयात्रापछि यहाँ आउन सकिन्छ । तर पुल सञ्चालनमा छैन ।”

    अहिले वाल्मीकि आश्रम पुग्ने तीर्थयात्री त्रिवेणीधामबाट काठको डुङ्गामा जोखिमपूर्ण यात्रा गरेर आउने गरेका छन् भने केही तीर्थयात्री भारतीय भूमि प्रयोग गरेरसमेत आउने गरेका छन् । 

    “त्रिवेणी भन्सारमा रहेको गण्डक ब्यारेज (पुल) तरेर भारतीय भूमि हुँदैसमेत तीर्थयात्री आउने गर्नुभएको छ”, उहाँले भन्नुभयो, “भारतीय भूमि प्रयोग गरेर आउँदा त्यहाँको पनि निकुञ्ज हुँदै आउनुपर्ने भएकाले यात्रा अलि कष्टपूर्ण छ ।” गण्डक ब्यारेज तरेर आउँदा जङ्गलको बाटोसँगै भारतको तमसा नदी र नेपालको स्वर्णभद्रा नदी तरेर आउनुपर्ने उहाँले बताउनुभयो ।

    “यी दुवै नदीमा पुल निर्माण गरिएको छैन”, उहाँले भन्नुभयो, “हिउँदमा दर्शनार्थी सहजरूपमा आए पनि बर्खाको बेलामा यहाँ आउन सहज छैन ।”

    भौगोलिकरूपमा वाल्मीकि आश्रम चितवनको माडी नगरपालिका–१ मा पर्ने यो भूमि पुग्नका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयीत्रिवेणी गाउँपालिका–६ मा पर्ने त्रिवेणीधामबाट नारायणी नदीमा डुङ्गा तरेर जाने गरिन्छ । 

    त्रिवेणीधामबाट वाल्मीकि आश्रम जोड्नका लागि झोलुङ्गे पुल निर्माण गरिएको भए पनि निकुञ्जको बाधाका कारण पुल सञ्चालनमा आउन नसकेको उहाँले बताउनुभयो ।

    यस पौराणिक भूमि महर्षि वाल्मीकिले रामायण रचना गरेको र लवकुश जन्मेको स्थलका रूपमा रहेको धार्मिक ग्रन्थमा उल्लेख गरिएको गिरीको भनाइ छ ।

    त्रेतायुगमा भगवान् रामले सीतालाई त्याग गरेपछि लक्ष्मणले यही भूमिमा ल्याएर छाडेको, सीताले वाल्मीकि आश्रममै जीवन बिताएको र पछि सीता पातल प्रवेश (धर्तीमुनि विलीन) गरेको स्थानका रूपमा पनि यो स्थल रहेको गिरीको भनाइ छ । 

    आश्रम क्षेत्रमा रहेका लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तरध्यान भएको स्थल, पचासी हजार ऋषिद्वारा वाल्मीकि ऋषिले हवन गरेको हवनकुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत रामायणकालीन सामग्री खुलारूपमा देख्न सकिने उहाँको भनाइ छ । विशेषगरी वाल्मीकि आश्रममा माघे औँसी, शिवरात्रि, बोलबमसहित विभिन्न समयमा भक्तजनको भीड हुने गरेको गिरीको भनाइ छ । 

    महर्षि वाल्मीकिले ब्रह्मज्ञान प्राप्त गर्नुका साथै यहीँ बसेर रामायण लेखेको स्थानका रूपमा वाल्मीकि आश्रम प्रख्यात रहेको सीता मन्दिरका पुजारी शेखर सुवेदीले बताउनुभयो । 

    सीतामाता वनबास बसेको र लवकुशको जन्म तथा शिक्षा–दीक्षा भएकाले यस ठाउँको विशेष महत्व रहे पनि सरकारी उदासिनताका कारण ओझेलमा परेको सुवेदीको भनाइ छ । प्राचीन त्रेतायुगको हरिहरको मूर्तिसहितका रामायणकालीन संरचना यहाँ रहेका उहाँले बताउनुभयो । 

    आफ्नो मनोकाङ्क्षा पूरा हुने जनाउँदै मानिसले आफूले इच्छाएको कुरा माग्नका लागि यहाँ आउने गरेका बताइएको छ । नेपालीभन्दा बढी भारतीय भक्तजन मन्दिरमा आउने गरेका उहाँको भनाइ छ । 

    मानिस बाह्रै महिना मन्दिरमा आउने भए पनि नेपाली भूमिबाट आउने बाटो नहुँदा धार्मिक पर्यटकलाई असहज हुने गरेको उहाँले बताउनुभयो । नेपालबाट आश्रममा आउन पुल बनेको भए पनि सञ्चालनमा नहुँदा भारतीय बाटो भएर आउनुपर्दा दुःख पाउने गरेका सुवेदीले गुनासो गर्नुभयो । 

    कास्कीको पोखरा महानगरपालिका–३३ बाट यहाँ आउनुभएका रमेशराज आचार्य किताबमा पढेका कुरा प्रत्यक्षरूपमा देखेर अवलोकन गर्दा प्रभावकारी हुने भएकाले आफूहरू वाल्मीकि आश्रममा आएको बताउनुहुन्छ । पुरातात्विक ऐतिहासिक ठाउँ भएकाले यसलाई अझ व्यवस्थित बनाउँदा जिउँदो इतिहास बन्ने आचार्यको तर्क छ ।

    “यसलाई पढ्नका लागि किताबका पाना पल्टाउनुभन्दा पनि अवलोकनबाट सबै कुरा पत्ता लाग्ने गरी संरक्षण गर्नुपर्छ”, उहाँले भन्नुभयो, “आश्रममा आउनका लागि नेपालकै बाटो प्रयोग गरेर आउने अवस्थाको सिर्जना गर्नसके राम्रो धार्मिक गन्तव्य बन्न सक्ने थियो ।”

    नेपालबाट आश्रममा आउने भक्तजन भारतको बाटो भएर आउनुभन्दा त्रिवेणीधामस्थित नारायणी नदीबाट जोखिमपूर्ण डुङ्गाको यात्रा गरेर आउने गरेका छन् । वाल्मीकि आश्रमलाई यातायात सञ्जालसँग जोड्दा धार्मिक पर्यटकीय दृष्टिकोणबाट यस ठाउँको महत्व अझै बढ्ने जनाइएको छ ।

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend