बुटवल । संविधानबिद काशीराज दाहालले संविधानको मर्म अनुसार नेतृत्वमा नजादाँ मुलकमा समस्या भएको बताउनुभएको छ । संविधानको मर्म अनुसार जानुभन्दा पनि दलहरुले सत्ता केन्द्रीत भएर जादाँ जनतामा निरासा छाएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै संविधानविद् दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गर्नुभयो ।
उहाँले संविधानलाई दिगो बनाउनको लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको बताउनुभयो । सविधानले के परिकल्पना गरेको हो भने सघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको माध्यमबाट मुलुकमा सुशासन स्थापना गर्न राज्य शक्तिलाई तीन तहमा विभाजन गरेको छ। तीनै तहले भष्ट्रचार न्युनिकरणका लागि जुन एकताबद्धताका साथ काम गर्नुपर्ने हो त्यो अझै पनि हुन सकिरहेको छैन ।
कुनैपनि संविधानलाई गतिशील बनाउन तीन कुरा समयमा हुन आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो,’ संविधान कार्यान्वयन एवं गतिशील बनाउन तीन कुरा आवश्यक छन् । पहिलो जनताले अपेक्षा गरेका कानुन तत्काल बन्नुपर्ने हुन्छन् तर आवश्यक कानुन बन्न सकेनन् । दोस्रो जनताले अनुभूति गर्न नसक्नु र गराउन नसक्नु हो भने तेस्रो संविधान स्वीकार नगर्ने शक्तिमार्फत कमी कमजोरी खोजी गर्नु आवश्यक छ।’
प्रशासकविज्ञ समेत रहेका दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्ताबेजको रूपमा रहने उल्लेख गर्नुभयो । रिपोर्टर्स क्लब नेपाल क्लब लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै उहाँले योग्य र सक्षम व्यक्ति संसदमा पुगेमा त्यसबाट बन्ने सरकार उत्तरदायी र जबाफदेही बन्ने बताउनुभयो।
त्यसको लागि आम निर्वाचनबाट नै जनताले सही मतको प्रयोग गरेमा स्वार्थ समूहले विधि एवं कानुन बनाउन नपाउने भएकोले जनताले मतदान गर्दा देखि नै ध्यान पूर्याउन उहाँले आग्रह गर्नुभयो ।
शासन प्रणाली, सेवा प्रवाहको अवस्था, हरेक क्षेत्रमा दलियकरण र राजनितिकरण गरिने प्रवृत्तिहरु छन् यसले गर्दा सुशासन प्रणाली कमजोर भएको बताउँदै भर्खर मात्र ट्रान्सपरेन्सी इन्टरनेशनलले भष्ट्रचारको सुचीमा नेपाललाई १०८ औँ स्थानमा राखेको खुलाउनुभयो ।
यसले के देखाउँछ, भने नेपालको सुशासनको अवस्था कमजोर छ। राजनितिक तहमा भष्ट्रचार र अनियमितता उत्तिकै छ। कर्मचारी प्रशासन तथा सार्वजनिक क्षेत्र लगायत हरेक क्षेत्रमा भष्ट्रचार न्युनिकरण गर्न सकिएको छैन । दाहालले राम्रो गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई सजाय दिने प्रकृति कमजोर हुदै गएकोले यस्तो अराजतका वृद्धि हुदै गएको बताउनुभयो ।
निर्वाचन क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धा, अनुत्पादक क्षेत्रमा खर्च गर्ने स्थितिले सत्ता कब्जा गर्ने कुरालाई देखाउँछ । हरेक राजनितिक दलको सत्तामा पुग्ने इच्छा हुनु स्वभाविक हो । तर अनुचित कार्यबाट सत्तालाई कब्जा गर्न खोजियो भने त्यस्तो अवस्थामा सुशासन कायम हुन सक्दैन । उहाँले सहकारीको सिद्धान्त अनुसार काम नगर्दा मलुकका सहकारीहरु समस्यामा रहेको बताउनुभयो । सहकारीले जग्गामा लगानी ,बैक जस्तो काम गरी काम गर्दा एकपछि अर्को समस्यामा फसेको बताउनुभयो ।
अहिले विश्वका विभिन्न अनुसन्धान प्रतिवेदनले नेपालमा सत्ताको दुरुप्रयोग भएको,विधीसम्मत काम हुन नसकेको, कानूनी सस्कृति कमजोर भएको देखाएका छन । उहाँले खासगरी वित्तीय पाटोमा,आर्थिक अनुशासनको पाटोमा,ठेक्कापट्टाको पाटोमा धेरै अनियमितता र भष्ट्रचार हुने हुनाले यसमा प्रतिस्पर्धाको आधारमा ठेक्कापट्टा हुने, नियमन र अनुगमन प्रभावकारी बनाउने, काम तोकिएको समयमा नभएमा कारबाहीको दायरामा ल्याउने यस्ता वित्तीय तथा आर्थिक अनुशासनको पाटोमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।
त्यसैले मुख्य कुरा प्रशासनीक, राजनितिक र वित्तीय आर्थिक क्षेत्रमा सुशासन आवश्यक छ । यी क्षेत्रको समग्र सुधारले मुलुकमा सुशासन कायम हुन सक्छ । साथै दाहालले धमिलिएको राजनितिक स्थिति, सत्ता केन्द्रित राजनिति, स्वइच्छा सत्ता कब्जा गर्ने कुराहरुमा सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।