Logo

Sep 28 2026 | २०८३, असोज १२गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी


१३, चैत २०८०
  • 113
    SHARES
  • धार्मिक पर्यटनको आकर्षक गन्तव्य बन्दै तनहुँको छिम्केश्वरी

    तनहुँ । समुद्र सतहबाट दुई हजार एक सय ३४ मिटर उचाइमा अवस्थित तनहुँको छिम्केश्वरी मन्दिर क्रमशः धार्मिक पर्यटकीयस्थलका रूपमा विकास भइरहेको छ ।

    आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीमा रहेको प्रसिद्ध धार्मिकस्थल छिम्केश्वरी माइ गाउँपालिकाकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यस्थल हो ।

    पृथ्वीराजमार्गको आँबुखैरेनीदेखि लाब्दीसम्म १५ किलोमिटर जीप यात्रा र छोटो पदयात्रापछि छिम्केश्वरी पुगिन्छ । यहाँबाट देखिने अपि, सैपाल, धौलागिरि, अन्नपूर्ण, मनास्लु, बुद्ध हिमालका मनोरम दृ्श्यले जोकोहीलाई मोहित बनाउँछ ।

    पछिल्लो समय छिम्केश्वरीमा पूजाआजा र दर्शनका लागि दैनिक भक्तजन तथा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । छिम्केश्वरीमा दैनिक ५० देखि एक सयको हाराहारीमा आन्तरिक पर्यटक आउने गरेका छन् ।

    यहाँ विशेषगरी नयाँवर्ष र होलीका बेला भक्तजनको घुइँचो लाग्ने गरेको छ । यस वर्षको होलीमा गत आइतबार पाँच हजार भक्तजनले पूजाआजा गरेको छिम्केश्वरी पर्यटन विकास समितिका अध्यक्ष कृष्ण तामाङले राससलाई जानकारी दिनुभयो ।

    यो मन्दिरमा तनहुँका अतिरिक्त छिमेकी जिल्ला लमजुङ, गोरखा, चितवनबाट पनि भक्तजन आउने गरेका मन्दिरका पुजारी धनराज गुरुङ बताउनुहुन्छ ।

    उहाँका अनुसार एकादशी र औँसी बाहेकका दिनमा पूजाआजा हुने यस मन्दिरमा पशुवली दिने परम्परा पनि  छ । गोरखा मनकामनाकी दिदीका रुपमा पुजिँदै आएकी छिम्केश्वरीमाईमा पूजा गरेपछि मनोकाङ्क्षा  पूरा हुने धार्मिक विश्वास छ ।

    गण्डकी प्रदेश सरकारले घोषणा गरेको एक सय दश पर्यटकीय गन्तव्यमा सूचीकृत छिम्केश्वरीमा रु ४५ लाखको लागतमा छिम्केश्वरी मन्दिर पुनर्निर्माण हालै पूरा भएको छ ।  प्रदेश सरकारको सहयोगमा पैदलमार्ग र रेलिङ निर्माण गरिएको छ ।

    आर्थिक वर्ष ०७५÷७६ मा रु ४१ लाख ६३ हजार सात सयको लागतमा चार सय ८६ मिटर ढुङ्गाको सिढी निर्माण सम्पन्न भएको छ भने आर्थिक वर्ष ०७६÷७७ मा रु ३५ लाख ९९ हजार एक सय ४१ को लागतमा तीन सय पाँच मिटर ढुङ्गाको सिढी र रेलिङ निर्माण सम्पन्न भइसकेको छ ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले गाउँपालिकाले छिम्केश्वरीलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकाकै सक्रियतामा मन्दिर पुनर्निर्माण भएको छ । यसको थप विकासका लागि योजना बनाउँदैछौ ।”

    छिम्केश्वरीसम्म पुग्ने सडकमा कालोपत्र सुरु भएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस खण्डमा कालोपत्र गर्न लागिएको हो । सडक कालोपत्रका लागि प्रदेश सरकारबाट रु आठ करोड ४७ लाख र सङ्घ सरकारबाट समपुरक कोष अन्तर्गत रु ८ करोड ४७ लाख बजेट विनियोजन भएको छ । सडक कालोपत्रको काम काठमाडौस्थित शर्मा एण्ड काष्टमण्डप जेभीले ठेक्का पाएको छ ।

    छिम्केश्वरी पुग्ने भक्तजनको सहजताका लागि छिम्केश्वरीको काखमा घरबास समेत सञ्चालन भएका छन् । आँबुखैरेनी गाउँपालिका–६ स्थित पर्यटकीय गाउँ हिलेखर्कमा स्थानीयवासीले घरबास सञ्चालन गरेका हुन् ।

    गुरुङ समुदायको बाहुल्य रहेको यहाँका घरबासमा आउनेलाई कोदो तथा फापरको ढिँडो, फापर र कोदोको सेलरोटी, भुटेको भटमास, गुन्द्रुकको अचार दिइने गरेको घरबास व्यवस्थापन समितिका अध्यक्ष बाटुमाया गुरुङले जानकारी दिनुभयो । हिलेखर्कमा रहेका दुई वटा घुमाउने घरले पनि यहाँ पुग्ने सर्वसाधारणलाई लोभ्याउने गरेको छ ।

    मन्दिर संरक्षण गर्न चन्दा सङ्कलन

    छिम्केश्वरी पर्यटन विकास समितिले भक्तजनबाट चन्दा सङ्कलन गरी छिम्केश्वरी मन्दिर संरक्षण गर्ने भएको छ । मन्दिरको समग्र विकासका लागि भक्तजनबाट चन्दा सङ्कलन गरिने  समितिले जनाएको छ ।

    समितिले मन्दिर संरक्षण, पुजारी व्यवस्थापन, भक्तजन विश्रामस्थल एवं उनीहरूको सुरक्षा , सार्वजनिक शौचालय निर्माणलगायत अधिकभन्दा अधिक पर्यटक आकर्षित गर्न मन्दिर क्षेत्रमा आधारभूत भौतिक पूर्वाधार निर्माणको योजना बनाएको पालिका अध्यक्ष चुमानले बताउनुभयो । 

  • बुटवलको आकाशमा पहिलोपटक प्याराग्लाइडिङ परीक्षण सफल

    बुटवल । बुटवलको पर्यटन क्षेत्रमा नयाँ साहसिक गतिविधि थपिने सम्भावना बढेको छ। पाल्पाको नुवाकोटबाट बुटवलको

  • पोखराबाट आजदेखि फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडान, पर्यटन व्यवसायी उत्साहित

    कास्की । लामो समयदेखि नियमित अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबारदेखि flydubai ले

  • दुई करोडको ‘सपना’ झाडीभित्र : नरपानीका पर्यटकीय पार्क

    बुटवल । पर्यटक तान्ने उद्देश्यले करोडौँ रुपैयाँ खर्च गरेर बनाइएका संरचना सञ्चालनमा आउन नसक्दा अर्घाखाँचीको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend