रोल्पा । प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या हो। प्राकृतिक विपत्ति नआओस्,बालीनालीमा किरा नलागोस् र ग्रह दशा राम्रो होस् भनेर मगर समुदायले हरेक असार १ गते देखि ५ गते सम्म भूमे पर्व मनाउने गर्दछन।
भूमिको पुजा गरेर असार १ देखि सुरु असार ५ गतेसम्म नाच्ने र रमाइलो गरेर मगर समुदायको भूमे पर्व विधिसम्मत रूपमा २०८० रोल्पामा मंगलबार सम्पन्न भएको हो।सुनछहरी गाउँपालिकाको जेल्बाङ,परिवर्तन गाउँपालिकाको कुरेली र थबाङ गाउँपालिकाको थबाङ गरि रोल्पामा २०८० को भूमे पर्व सम्पन्न भएको थबाङ गाउँपालिकाले जानकारी दिएको छ।
असार १ गतेदेखि सुरु भएको भूमे नाच आज अर्थात ५ गतेका दिन हामीले सम्पन्न गरेका छौँ,थबाङ गाउँपालिकाका अध्यक्ष ॠषिकेशव बुढा मगरले बताउनुभयो।हामी विषेश महत्त्वका साथ मनाउदै आएका छौं र यो बर्ष पनि हामी पाँच दिन सम्म रमाइलो गरेर यो बर्षको भूमे पर्वलाई बिदाई गरेका छौँ बुढा मगरले भने।
कालो चोलीमा,रातो थोप्ला भएको कालो गुनियोलाई पटुकीले कसेर लगाएपछि बाहिरबाट मखमलको रातो घलेक अनि पछ्यौराका साथै गहना लगाएर चिटिक्क परेका महिला तथा कालो चोलीमै कालो धर्का हालेको घरबुना धरोलाई पटुकीले कसेर लगाई मखमलकै कालो घलेक लगाएर सजिएका पुरुष दमाह,ट्याम्की,छिल्लर र सहनाईको तालमा लहरै नाच्ने नाच हो भूमे नाच।