काठमाडौँ । एक साताको अवधिमा सुनको मूल्य तोलामा ८ हजार ९०० रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर ५ गते तोलामा २ लाख ४१ हजार ७०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य मंसिर १२ गते शुक्रबार बढेर २ लाख ५० हजार ६०० रुपैयाँ पुगेको हो।
यसैगरी, चाँदीको मूल्य पनि साताभरिमा २४५ रुपैयाँले बढेको महासंघले जनाएको छ। महासंघका विवरणअनुसार छापावाल सुन मंसिर ७ गते २ लाख ४४ हजार ६०० रुपैयाँ, मंसिर ८ गते २ लाख ४२ हजार ७०० रुपैयाँमा झरेको थियो। मंसिर ९ गते भने बढेर २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको सुनको मूल्य मंसिर १० र ११ गतेसम्म २ लाख ४८ हजार ८०० रुपैयाँमा स्थिर रहेको थियो।
त्यस्तै, मंसिर ५ गते ३ हजार १०० रुपैयाँमा रहेको चाँदी मंसिर १२ गते ३ हजार ३४५ रुपैयाँ कायम भएको छ। मंसिर ७ गते ३ हजार १३५, मंसिर ८ गते ३ हजार ११५, मंसिर ९ गते ३ हजार २००, मंसिर १० गते ३ हजार २२० र मंसिर ११ गते ३ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी साताभरि मिलेर २४५ रुपैयाँले बढेको महासंघले उल्लेख गरेको छ।