काठमाडौं l मंसिर १७-सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पहिलोपटक जुनार प्रबर्द्धन मेला आयोजना हुन लागेको छ । गाउँपालिकाले मंसिर २३ गतेदेखि तीन दिनसम्म चल्ने मेलाको आयोजना गरेको हो ।
गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालका अनुसार मेला वडा नं. ४ मा आयोजना हुनेछ, जहाँ जुनार खेतीको राम्रो सम्भावना रहेको छ । उनले भने, “यहाँको सम्भावनालाई थप बलियो बनाउन मेलाको आयोजना गरिएको हो।
मेलामा जुनार विज्ञ तथा सरोकारवालाहरूको उपस्थितिले कार्यक्रमलाई अझ सार्थक बनाउने विश्वास छ।” मेलाको उद्घाटन वाग्मती प्रदेशका कृषिमन्त्री मधुसूदन पौडेलले गर्ने कार्यक्रम रहेको बताइएको छ।
अध्यक्ष बरालले मेलामा तीन हजारभन्दा बढी मानिस सहभागी हुने अपेक्षा गरिएको बताएका छन् । उनले आगामी दिनमा पनि स्थानीय उत्पादन प्रबर्द्धन गर्ने अन्य कार्यक्रम सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।