काठमाडौं । नेपाली कांग्रेस आज संगठनात्मक पुनर्संरचना, वैचारिक स्पष्टता र जनविश्वास पुनःस्थापनाको निर्णायक चरणमा पुगेको छ ।
प्रतिनिधिसभा निर्वाचनको घोषणा र पार्टीको १५ औँ महाधिवेशनको मिति तय भएसँगै कांग्रेसभित्र नेतृत्व, नीति र संगठनको भावी दिशाबारे गम्भीर बहस चलिरहेको छ। यही ऐतिहासिक मोडमा कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तको सक्रियता पार्टी हित र संगठन सुदृढीकरणका दृष्टिले अर्थपूर्ण रूपमा अघि बढिरहेको छ ।
नेपाल महिला संघको केन्द्रीय अध्यक्ष भई सफल र संघर्षशील नेतृत्वपछि नेपाली काङ्ग्रेसको केन्द्रीय राजनीतिमा सशक्त उपस्थिति जनाएकी डा. संग्रौला समयमै महाधिवेशन हुनुपर्ने पक्षमा दृढतापूर्वक उभिने नेतृका रूपमा चिनिन्छिन् ।
१५ औँ महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने मागसहित २८ जना केन्द्रीय सदस्यसँग संयुक्त रूपमा ज्ञापनपत्र बुझाउनु उनको संगठनप्रतिको प्रतिबद्धताको स्पष्ट प्रमाण हो ।
महाधिवेशनको मिति तय भएसँगै उनी संगठन विस्तार र वैचारिक संवादको अभियान लिएर मधेश केन्द्रित यात्रामा होमिएकी छिन् । मधेश : कांग्रेसको आधार, कांग्रेसको भविष्य सप्तरी, सिराहा, महोत्तरी, सर्लाही र धनुषासहित मधेशका विभिन्न जिल्लामा पुगेर नेता–कार्यकर्ता, बुद्धिजीवी र समुदायसँग संवाद गरिरहेकी डा. संग्रौला मधेशलाई कांग्रेसको केवल ‘भोट बैंक’ होइन, ‘विचार, संघर्ष र सम्भावनाको केन्द्र’ का रूपमा पुनःस्थापित गर्नुपर्नेमा जोड दिन्छिन् ।
२०७४ सालको प्रतिनिधिसभा सदस्य समेत रहेकी नेतृ संग्रौलाको स्पष्ट र दूरदर्शी धारणा छ “मधेश नजागी कांग्रेस ब्युँझदैन र कांग्रेस नब्युँझी लोकतन्त्र सुरक्षित हुँदैन ।” यो भनाइ आजको राजनीतिक यथार्थसँग गहिरो रूपमा जोडिएको छ ।
मधेशमा उदाएका नयाँ शक्ति र क्षेत्रीय दलहरूको प्रभावबीच कांग्रेस संगठनमा देखिएको सुस्ततालाई तोड्न वैचारिक स्पष्टता र जरा तहको संगठन मजबुत बनाउनु अपरिहार्य रहेको उनको निष्कर्ष छ ।
महाधिवेशन : पदको प्रतिस्पर्धा होइन, विचारको परीक्षा डा. संग्रौलाका अनुसार १५ औँ महाधिवेशन नेतृत्व परिवर्तनको औपचारिक प्रक्रिया मात्र होइन, कांग्रेसलाई २१ औँ शताब्दीको लोकतान्त्रिक आकांक्षा, प्रविधि र जनचाहनासँग जोड्ने ऐतिहासिक अवसर हो ।
गुटबन्दी, परिवारवाद, आन्तरिक वैमनस्यता र चाकरी संस्कृतिले कांग्रेसलाई कमजोर बनाएको यथार्थ स्वीकार गर्दै उनी ‘नीति, मूल्य र विचारमा आधारित कांग्रेस’ निर्माणको पक्षमा स्पष्ट रूपमा उभिन्छिन् ।
क्रियाशील सदस्यता वितरणदेखि संगठन सञ्चालनसम्म पारदर्शिता, जवाफदेहिता र अनुशासन कायम गर्न सबै तहका नेता कार्यकर्ताले खबरदारी गर्नुपर्ने उनको आग्रह कांग्रेस सुधारको ठोस खाका हो ।
जनजीवनसँग जोडिएको राजनीति डा. संग्रौलाको मधेश यात्रा केवल राजनीतिक भाषणमा सीमित छैन । किसानका समस्या, मल बीउको अभाव, आर्थिक सम्भावना, सांस्कृतिक विविधता र सामाजिक समावेशीतालाई नजिकबाट बुझ्ने प्रयास उनको यात्राको महत्वपूर्ण पक्ष बनेको छ । “मधेश आर्थिक समृद्धिको ढोका हो, तर यहाँका किसान सधैं अभावमा छन्,” भन्ने उनको भनाइले कांग्रेसको नीति कागजमा मात्र नभई जनजीवनमा आधारित हुनुपर्ने सन्देश दिन्छ ।
संघीयताको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश सरकारलाई थप अधिकार, स्थानीय तहमा सुशासन तथा दलित, मुस्लिम, मधेशी र पिछडिएका वर्गको अर्थपूर्ण समावेशी प्रतिनिधित्वबिनाको कांग्रेस अधूरो हुने उनको दृष्टिकोण स्पष्ट र प्रगतिशील छ ।
कांग्रेस हितमा एक जिम्मेवार पहल,मधेशको मनोविज्ञान बुझ्दै संगठन सुदृढीकरणमा जुटेकी डा. डिला संग्रौलाको सक्रियता कुनै व्यक्तिगत महत्वाकांक्षामा सीमित छैन । यो अभियान नेपाली कांग्रेसलाई वैचारिक रूपमा मजबुत, संगठनात्मक रूपमा चुस्त र जनतासँग पुनःविश्वासको सम्बन्ध स्थापित गर्ने जिम्मेवार पहल हो ।
आगामी महाधिवेशन र प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा उनको भूमिका कांग्रेसभित्र आशा, बहस र सकारात्मक परिवर्तनको संकेतका रूपमा हेरिएको छ । मधेशलाई परिवर्तनको केन्द्र बनाउँदै कांग्रेसको पुनर्जागरणतर्फ अघि बढ्ने यो यात्रा पार्टी, लोकतन्त्र र देशकै हितमा केन्द्रित छ ।