काठमाडौँ । नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आउन अब ६ दिन मात्र बाँकी रहँदा यस साता सेयर बजार भने ३ दिन मात्र खुल्ने भएको छ। नेपालको संविधानमा भएको व्यवस्था बमोजिम हरेक वर्षको जेठ १५ गते संघीय सरकारको बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ। बजेट सार्वजनिक हुने साता परे पनि विभिन्न सार्वजनिक बिदाका कारण सेयर कारोबार भने प्रभावित हुने भएको हो। सरकारले सातामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था गरेका कारण आज आइतबार पनि सेयर बजार बन्द रहेको छ, जसले गर्दा लगानीकर्ताहरूले भोलि सोमबारदेखि मात्र कारोबार गर्न पाउनेछन्।
सामान्यतया सोमबारदेखि शुक्रबारसम्म पाँच दिन खुल्ने सेयर बजार यस साता भने सोमबार, मङ्गलबार र बुधबार गरी तीन दिन मात्र सञ्चालन हुनेछ। जेठ १४ गते बिहीबार इस्लाम धर्मावलम्बीहरूको चाड 'इद' को सार्वजनिक बिदा परेको छ भने जेठ १५ गते शुक्रबार बजेट सार्वजनिक हुने दिन नै गणतन्त्र दिवसको समेत सार्वजनिक बिदा परेकाले बजार बन्द रहने भएको हो। गत साता पाँचै दिन पूरा कारोबार भएको सेयर बजार यस पटक बजेट आउनुअघि संक्षिप्त अवधिका लागि मात्र खुल्ने भएपछि लगानीकर्ताहरू आगामी बजेटले सेयर बजारका नीतिमा पार्ने प्रभावलाई लिएर पर्ख र हेरको अवस्थामा रहेका छन्।