Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन र रेल कनेक्टिभिटी विस्तार आवश्यक : चेम्बर


२३, जेठ २०८३
  • 68
    SHARES
  • गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन र रेल कनेक्टिभिटी विस्तार आवश्यक : चेम्बर

    गोरखपुर, भारत । नेपाल–भारतबीचको आर्थिक तथा व्यापारिक सहकार्यलाई थप सुदृढ र प्रभावकारी बनाउन पर्यटन, व्यापार, लगानी, पूर्वाधार विकास तथा कनेक्टिभिटी विस्तारमा प्राथमिकता दिनुपर्नेमा दुवै देशका उद्योगी, व्यवसायी तथा नीति विज्ञहरूले जोड दिएका छन्।

    भारतको गोरखपुरमा आयोजित “भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६” मा सहभागी नेपाल र भारतका उद्योगी, व्यवसायी, बैंकिङ क्षेत्रका प्रतिनिधि तथा विज्ञहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण क्षमतामा सञ्चालन, लुम्बिनी पर्यटन प्रवर्द्धन, भैरहवा विशेष आर्थिक क्षेत्र (एसईजेड) मा लगानी विस्तार, व्यापार सहजीकरण तथा रेल कनेक्टिभिटी विकासमार्फत द्विपक्षीय आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सकिने निष्कर्ष निकालेका हुन्।

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले नेपाल–भारतबीचको ऐतिहासिक ‘रोटी–बेटी’ सम्बन्धलाई अब आर्थिक साझेदारी, व्यापार विस्तार, लगानी अभिवृद्धि र पर्यटन विकाससँग अझ सशक्त रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए।

    उनले खुला सीमा, सांस्कृतिक समानता, धार्मिक सम्बन्ध र भौगोलिक निकटताले दुई देशबीच आर्थिक सहकार्यका अपार सम्भावना सिर्जना गरेको उल्लेख गर्दै ती अवसरलाई परिणाममुखी परियोजना र साझेदारीमार्फत उपयोग गर्नुपर्ने बताए।

    अध्यक्ष पोखरेलले विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यी विमानस्थलहरूको प्रभावकारी सञ्चालनले लुम्बिनी प्रदेशको पर्यटन, होटल उद्योग, व्यापार तथा विदेशी लगानी प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

    विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न नेपाल र भारतका पर्यटन व्यवसायी तथा निजी क्षेत्रबीच थप सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। उनले लुम्बिनी, कुशीनगर, बोधगया र सारनाथलाई समेटेर संयुक्त बौद्ध पर्यटन सर्किट विकास गर्न सके दक्षिण एशियाकै महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य निर्माण गर्न सकिने धारणा व्यक्त गरे।

    अध्यक्ष पोखरेलले कृत्रिम बौद्धिकता (एआई), डिजिटल भुक्तानी प्रणाली, सीमा व्यापार व्यवस्थापन, जैविक उत्पादन, नेपाली कफी तथा आयुर्वेदिक उत्पादनको प्रवर्द्धनमा दुवै देशबीच सहकार्य विस्तार गर्नुपर्ने बताए। साथै, भारतीय बजारमा नेपाली साना तथा मझौला उत्पादनहरूले भोग्दै आएका चुनौती समाधानका लागि नीतिगत सरलीकरण, सहज बजार पहुँच र व्यापारिक अवरोध न्यूनीकरण आवश्यक रहेको उनको भनाइ थियो।

    उनले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (एसईजेड) मा भारतीय लगानी आकर्षित गर्न नीतिगत सुधार, लगानीमैत्री वातावरण निर्माण तथा निजी क्षेत्रबीच व्यावसायिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए। सीमावर्ती क्षेत्रको औद्योगिक सम्भावनालाई उपयोग गर्दै संयुक्त उत्पादन, मूल्य अभिवृद्धि र निर्यात प्रवर्द्धनका कार्यक्रम अघि बढाउनुपर्ने सुझाव समेत उनले दिए।

    मञ्चअन्तर्गत आयोजित राउन्ड टेबल छलफलमा सहभागीहरूले नेपाल–भारत आर्थिक सम्बन्धलाई थप उचाइमा पुर्‍याउन निजी क्षेत्रको भूमिका अझ प्रभावकारी र सक्रिय बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले व्यापार सहजीकरण, पूर्वाधार विस्तार, सीमापार कनेक्टिभिटी र लगानी प्रवर्द्धनका क्षेत्रमा सरकार तथा निजी क्षेत्रबीच थप समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे।

    भारत–नेपाल केन्द्र तथा भारतीय वाणिज्य तथा उद्योग चेम्बर (आईसीसीआई) को सहकार्यमा आयोजित कार्यक्रममा अतुल कुमार ठाकुरले उद्घाटन मन्तव्य व्यक्त गरेका थिए भने आईसीसीआईका को–चेयर कामलेश जैनले स्वागत मन्तव्य दिएका थिए।

    कार्यक्रममा भारतस्थित नेपाली दूतावासका प्रतिनिधि तारानाथ अधिकारी, आर्थिक काउन्सिलर डा. सुरेन्द्र थापा, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का प्रतिनिधि कृष्णप्रसाद शर्मा लगायतले नेपाल–भारत आर्थिक सम्बन्ध सुदृढीकरण, व्यापार विस्तार तथा लगानी सहकार्यका सम्भावनाबारे धारणा राखेका थिए।

    मञ्चमा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलसहित नेपाल र भारतका उद्योग, व्यापार, बैंकिङ, पर्यटन तथा विकास क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

  • सुनको मूल्य तोलामा १७ सय रुपैयाँ घट्यो, चाँदी पनि ओरालो

    काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार

  • भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात, बाढीपछि बंगलादेशतर्फको निर्यात रोकियो

    काठमाडौं । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको विद्युत्

  • भारतमा अर्थमन्त्री वाग्लेको उच्चस्तरीय संवाद, पुनर्निर्माणदेखि आर्थिक सहकार्यसम्म छलफल

    काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार भ्रमणको दोस्रो दिन नेपालभारत

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend