जनकपुरधाम । बाराकी तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा पक्राउ परेका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी हवलदार पक्राउ परेका छन्।
स्रोतका अनुसार पक्राउ पर्नेमा प्रहरी हवलदार कुमार विक रहेका छन्। उनलाई हिरासतमा राखेर घटनाबारे अनुसन्धान अघि बढाइएको छ। आरोपितको अनुसन्धानकै क्रममा प्रहरीको प्रोटोकलविपरीत भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा विकमाथि फौजदारी कसुरअन्तर्गत कारबाही प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताइएको छ।
अनुसन्धानकै क्रममा कसरी बाहिरियो भिडियो?
गरिमा हत्या प्रकरणको अनुसन्धानका क्रममा आरोपीसँग गरिएको बयानको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको अनुसन्धान प्रणाली र संवेदनशील सामग्रीको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको थियो।
अनुसन्धानकै क्रममा रहेको अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि प्रहरीमाथि अनुसन्धानको गोपनीयता, सुरक्षा प्रोटोकल र अभियुक्त तथा पीडित पक्षको अधिकार संरक्षणका विषयमा चौतर्फी प्रश्न उठेका छन्।
भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको बताइएको छ। त्यसैले पक्राउ परेका हवलदारसँगै भिडियो खिच्न वा सार्वजनिक गर्न संलग्न अन्य प्रहरीको भूमिकामाथि समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ।
एसपी र डीएसपीमाथि पनि छानबिन
भिडियो सार्वजनिक भएको घटनालाई लिएर जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवर र डीएसपी मीनबहादुर घलेमाथि समेत छानबिन सुरु भएको बताइएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान थालेका हुन्।
अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तको बयान कसरी भिडियोमा कैद भयो, कसको अनुमति वा निर्देशनमा भिडियो खिचियो र त्यसलाई सामाजिक सञ्जालसम्म पुर्याउने काममा को–को संलग्न थिए भन्ने विषयमा छानबिन केन्द्रित हुने देखिएको छ।
प्रहरी अनुसन्धानमाथि उठेको गम्भीर प्रश्न
बलात्कार र हत्या जस्तो संवेदनशील घटनामा अनुसन्धानका क्रममा रहेका अभियुक्तको बयान सार्वजनिक हुनु सामान्य विषय होइन। यस्तो सामग्री सार्वजनिक हुँदा अनुसन्धानको निष्पक्षता, अभियुक्तको कानुनी अधिकार र पीडित परिवारको गोपनीयतामाथि समेत असर पर्न सक्ने भन्दै प्रश्न उठेको छ।
गरिमा हत्या प्रकरणमा दोषीमाथि कडा कारबाहीको माग भइरहेका बेला अनुसन्धान प्रक्रियामै प्रहरीको संलग्नतामा भिडियो बाहिरिएको घटनाले प्रहरी संगठनमाथि थप दबाब सिर्जना गरेको छ।
अब छानबिनले भिडियो कसले खिच्यो, कसरी बाहिरियो र त्यसमा प्रहरीका अन्य अधिकारीको भूमिका थियो कि थिएन भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
गरिमा हत्या प्रकरणको अनुसन्धानसँगै प्रहरीभित्रैबाट अनुसन्धानसम्बन्धी संवेदनशील सामग्री बाहिरिएको घटनाको छानबिन पनि अघि बढेपछि यो प्रकरण थप गम्भीर र पेचिलो बनेको छ।