काठमाडौं । बाहिरी आवरणलाई नै सुन्दरताको मापदण्ड मान्ने सामाजिक सोचमाथि प्रश्न उठाउँदै म्युजिकल फिल्म ‘ब्युटिफूल’ सार्वजनिक गरिएको छ। करिब ७ मिनेट लामो म्युजिकल भिडियोमा समीर आचार्य र अञ्जुली हमालको स्वर रहेको छ भने शिभान्सी खड्काको फिचरिङ तथा अभिनय छ।
‘ब्युटिफूल’को शब्द र संगीत समीर आचार्यकै रहेको छ। भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी, प्रविन भट्टको सम्पादन र अनिल मानन्धरको छायांकन रहेको छ। म्युजिकल फिल्मलाई सुनिल बिकले निर्देशन गरेका हुन्।
म्युजिकल फिल्मले समाजमा स्थापित हुँदै गएको बाहिरी सुन्दरतालाई केन्द्रमा राख्ने प्रवृत्तिमाथि व्यङ्ग्यात्मक प्रश्न उठाएको छ। मेकअप, गोरो छाला र चम्किलो आवरणलाई मात्र सुन्दरताको परिचय मान्ने सोचप्रति फिल्मले असहमति जनाउँदै वास्तविक सुन्दरता व्यक्तिको सोच, व्यवहार र कर्ममा हुने सन्देश दिएको छ।
आवरणभित्रको वास्तविकता लुकाएर प्रस्तुत गरिने चम्किलो अनुहारलाई नै सुन्दरता ठान्नु भ्रम भएको देखाउँदै म्युजिकल फिल्मले बाहिरी आकर्षणको पछि नलाग्न दर्शकलाई सन्देश दिएको छ।
गीत तथा भिडियोले सुन्दरतालाई केवल रूपसँग जोड्ने सामाजिक दृष्टिकोणभन्दा मेहनत, परिश्रम, लगाव र आत्मनिर्भरतालाई व्यक्तिको वास्तविक पहिचानका रूपमा प्रस्तुत गरेको छ।
म्युजिकल फिल्मको मूल भावअनुसार आफ्नो क्षमता र मेहनतबाट कर्म गर्दै स्वावलम्बी बन्न सक्नु नै वास्तविक अर्थमा सुन्दरता र सफलताको परिचय हो। यही सन्देशलाई मनोरञ्जनसँगै सामाजिक चेतनाको विषय बनाउँदै ‘ब्युटिफूल’ले दर्शकमाझ प्रस्तुत गरेको छ।