काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले नेपाल वायुसेवा निगमलाई अस्पष्ट र अनिर्णयको अवस्थामा राखेर राष्ट्रिय ध्वजावाहकको साख फर्काउन नसकिने बताएका छन् ।
शुक्रबार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै सांसद उप्रेतीले निगमलाई तत्काल कम्पनी ऐनअन्तर्गत लैजाँदै स्वायत्त र व्यावसायिक संस्थाका रूपमा सञ्चालन गर्न सरकारसँग आग्रह गरे । उनले नेपाल एयरलाइन्सको वर्तमान संरचना र सञ्चालन शैलीमाथि पुनर्विचार गर्दै संस्थाको औचित्य स्पष्ट पार्नुपर्ने बताए ।
उनका अनुसार राष्ट्रिय ध्वजावाहक भएकाले निगमसँग भावनात्मक पक्ष जोडिए पनि यसको दीर्घकालीन सञ्चालन व्यावसायिक आधारमै हुनुपर्छ । निरन्तर राजनीतिक हस्तक्षेपको सट्टा स्वायत्त, सक्षम र जवाफदेही व्यवस्थापन आवश्यक रहेको उनको भनाइ थियो ।
निगमको वर्तमान अवस्थाका लागि राजनीतिक नेतृत्वको जोखिम लिन नसक्ने प्रवृत्ति र प्रशासनिक हठ मुख्य कारण रहेको दाबी गर्दै उनले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग हुन नसकेको, जहाज ग्राउन्डेड रहने गरेको तथा व्यवस्थापकीय कमजोरीका कारण निगम समस्यामा परेको बताए ।
सांसद उप्रेतीले निगमलाई कम्पनी ऐनअन्तर्गत लैजाने, रणनीतिक साझेदार वा निजी क्षेत्रको सहभागिताबारे स्पष्ट नीति बनाउने तथा आवश्यक कानुनी सुधार गर्नुपर्ने बताए । जहाज खरिद, सार्वजनिक खरिद प्रक्रिया, अदालतमा विचाराधीन मुद्दा र प्रशासनिक अवरोधका कारण निर्णय प्रक्रिया प्रभावित भएको भन्दै उनले व्यवस्थापनलाई आवश्यक अधिकारसहित निर्णय गर्ने स्वतन्त्रता दिनुपर्नेमा जोड दिए ।
निगमको नेतृत्व छनोटमा योग्यता र क्षमतालाई मुख्य आधार बनाउनुपर्ने बताउँदै उनले आवश्यक परे योग्य विदेशी महाप्रबन्धक नियुक्त गर्नसमेत खुला हुनुपर्ने धारणा राखे । आफन्तवाद र राजनीतिक प्रभावले निगमको व्यावसायिकतामा असर पुर्याइरहेको भन्दै उनले त्यसको अन्त्य आवश्यक रहेको बताए ।
सरकारले निगममाथिको प्रत्यक्ष नियन्त्रण क्रमशः घटाउँदै व्यवस्थापनलाई स्वायत्त, सक्षम र जवाफदेही बनाउनुपर्ने सांसद उप्रेतीको जोड थियो ।