काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दुई दिने भ्रमणका लागि अमेरिका पुगेका छन्। बाढीबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि सहयोग जुटाउनेदेखि नेपाललाई एफएटीएफको ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रयाससम्मका विषयमा छलफल गर्न उनी अमेरिका पुगेका हुन्।
विश्व बैंक समूहका अध्यक्ष अजय बङ्गाको निमन्त्रणामा अर्थमन्त्री वाग्लेको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल शुक्रबार राति अमेरिकाको वासिङ्टन डीसी प्रस्थान गरेको थियो। असोज १९ र २० गते अर्थात् अक्टोबर ५ र ६ सम्म हुने भ्रमणका क्रममा वाग्लेले अमेरिकी सरकारका उच्च अधिकारी, विश्व बैंक तथा विकास साझेदार निकायका प्रतिनिधिसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा द्विपक्षीय सहयोग विस्तार, बाढी तथा पहिरोबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण, एफएटीएफ ग्रे लिस्टबाट नेपालको बहिर्गमन तथा आर्थिक सुधारका विषयमा छलफल हुनेछ।
भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त भौतिक तथा आर्थिक पूर्वाधारको पुनर्निर्माण र आगामी दिनमा उत्थानशील पूर्वाधार विकासका लागि थप अन्तर्राष्ट्रिय सहायता परिचालन गर्ने विषयलाई पनि भ्रमणका क्रममा प्राथमिकतामा राखिने जनाइएको छ।
वाग्लेले विश्व बैंक, अमेरिकी अर्थ मन्त्रालय तथा अमेरिकी डेभलपमेन्ट फाइनान्स कर्पोरेसन (डीएफसी) का उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। सडक, विद्युत् प्रसारण लाइनलगायत महत्वपूर्ण पूर्वाधारमा लगानी विस्तार गर्दै नेपालमा रोजगारी तथा आर्थिक अवसर सिर्जना गर्ने सम्भावनाबारे विकास साझेदार र निजी क्षेत्रसँग समेत छलफल हुने बताइएको छ।
अर्थमन्त्री वाग्लेको पछिल्लो समय विदेश भ्रमणको क्रमसमेत तीव्र बनेको छ। उनले असोज १ गते भारतको तीन दिने भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका थिए। त्यसपछि असोज १० गते दोहा पुगेका वाग्ले असोज १४ गते स्वदेश फर्किएका थिए। छोटो समय स्वदेश बसेपछि उनी पुनः अमेरिका प्रस्थान गरेका हुन्।
अमेरिका भ्रमणपछि अर्थमन्त्री वाग्ले असोज ३० गते बैंकक जाने तयारीमा रहेको बताइएको छ। लगातारका विदेश भ्रमणमार्फत नेपालका आर्थिक सुधार, लगानी विस्तार, पुनर्निर्माणका लागि स्रोत परिचालन तथा अन्तर्राष्ट्रिय आर्थिक सहकार्यलाई अघि बढाउने प्रयास भइरहेको उनको सचिवालयले जनाएको छ।