मुस्लिम कोटाबाट कांग्रेस केन्द्रीय सदस्यका आकांक्षी अलिमियाँ : विद्यार्थी राजनीतिदेखि उद्योग-व्यवसाय र पार्टी संगठनसम्मको अनुभव
काठमाडौ । विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, पार्टी संगठनमा निरन्तर सक्रियता, उद्योग–व्यवसायमा नेतृत्वदायी भूमिका र निजी क्षेत्रसँगको लामो अनुभव बोकेर जमशेर अलिमियाँ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मुस्लिम कोटाबाट केन्द्रीय सदस्य पदका लागि मैदानमा उत्रिने तयारीमा छन्।
कपिलवस्तु क्षेत्र नं. ३ बाट महासमिति सदस्य रहेका अलिमियाँले आफ्नो उम्मेदवारीलाई केवल पद प्राप्तिको आकांक्षाका रूपमा नभई राजनीतिक अनुभव र निजी क्षेत्रबाट हासिल गरेको व्यावहारिक ज्ञानलाई पार्टीको केन्द्रीय नीतिनिर्माणसँग जोड्ने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।
उनले बदलिँदो राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा कांग्रेसले युवाको रोजगारी, उद्यमशीलता, निजी क्षेत्रको भूमिका तथा सामाजिक सद्भावका विषयलाई थप प्राथमिकताका साथ अघि बढाउनुपर्ने धारणा राखेका छन्। “व्यवसायिक यात्राबाट एउटा लामो अनुभव हासिल गरेको छु। अब त्यही अनुभवलाई देश, जनता र समाजको पक्षमा उपयोग गर्ने सोचले पार्टीको केन्द्रीय नेतृत्वमा पुगेर काम गर्न चाहेको हुँ।”
अलिमियाँका लागि केन्द्रीय सदस्यको उम्मेदवारी भने नयाँ राजनीतिक अध्याय मात्र होइन, चार दशकभन्दा लामो राजनीतिक तथा सामाजिक यात्रालाई पार्टीको नीतिगत तहमा लैजाने प्रयास पनि हो।
नेविसंघबाट सुरु भएको यात्रा
अलिमियाँले २०४२ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेका थिए। विद्यार्थी जीवनमै संगठन र नेतृत्वको अभ्यास गरेका उनले जनज्योति माध्यमिक विद्यालयमा कोषाध्यक्ष, सोहरतगणस्थित शिवपती इन्टर कलेजमा सचिव तथा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पामा पाल्पा–अर्घाखाँची सम्पर्क समितिको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।
२०५४ सालमा तत्कालीन सन्धिखर्क गाविसमा नेपाली कांग्रेसका तर्फबाट क्षेत्रीय सदस्य पदका लागि उम्मेदवार बनेपछि उनको पार्टी राजनीतिको यात्रा थप सक्रिय बनेको थियो।
त्यसयता कांग्रेसको संगठनात्मक गतिविधिमा निरन्तर जोडिँदै आएका अलिमियाँका अनुसार उनी १३औँ, १४औँ र १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधि तथा १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य रहिसकेका छन्। हाल उनी नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य छन्।
राजनीतिसँगै निजी क्षेत्रमा बलियो उपस्थिति
अलिमियाँको परिचय राजनीतिक गतिविधिमा मात्र सीमित छैन। लामो समयदेखि उद्योग तथा व्यवसाय क्षेत्रमा सक्रिय उनले चन्द्रौटालाई आफ्नो प्रमुख कार्यक्षेत्र बनाउँदै विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका छन्। उनका अनुसार लोकप्रिय इँटा, लोकप्रिय हार्डवेयर, लोकप्रिय मोटरसाइकल सोरुम तथा मर्मत, लोकप्रिय पेट्रोल पम्प र लोकप्रिय टायरलगायत व्यवसाय सञ्चालनमा छन्। उनी अटल सिमेन्ट प्रालिका अध्यक्षसमेत हुन्।
आफू आबद्ध उद्योग तथा व्यवसायमार्फत करिब ४०० जनालाई रोजगारी उपलब्ध गराएको उनको दाबी छ। यही अनुभवलाई राजनीतिक नेतृत्वसँग जोडेर उनले निजी क्षेत्र, लगानी, उद्यमशीलता र रोजगारीका विषयलाई कांग्रेसको नीतिगत बहसको महत्वपूर्ण हिस्सा बनाउनुपर्ने धारणा अघि सारेका छन्।
चन्द्रौटाको उद्योग वाणिज्य क्षेत्रदेखि महासंघसम्म
व्यवसायिक क्षेत्रमा पनि अलिमियाँले संस्थागत नेतृत्वको अनुभव हासिल गरेका छन्। उनी चन्द्रौटा उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष हुन्। २०६३ सालदेखि संघको अध्यक्षका रूपमा तीन कार्यकाल नेतृत्व गरेको उनले बताएका छन्। त्यसपछि नेपाल उद्योग वाणिज्य महासंघमा समेत केन्द्रीय सदस्यका रूपमा दुई कार्यकाल काम गरेको उनको विवरण छ।
उद्योग, व्यापार र निजी क्षेत्रका संस्थागत संरचनामा लामो समय नेतृत्व गरेको अनुभवलाई उनले अब पार्टीको नीति निर्माण र राजनीतिक नेतृत्वसँग जोड्न चाहेका छन्।
अर्घाखाँचीको वाङ्गलादेखि चन्द्रौटासम्म
अलिमियाँको राजनीतिक तथा सामाजिक यात्राको सुरुवात अर्घाखाँचीबाट भए पनि लामो समयदेखि उनको सक्रियता कपिलवस्तुमा केन्द्रित छ। २०२९ असोज ९ गते तत्कालीन सन्धिखर्क गाविस–४ वाङ्गला, हाल सन्धिखर्क नगरपालिका–४ मा जन्मिएका अलिमियाँ नुरमहमद मियाँ र नुरजहाँका तीन छोरामध्ये जेठा हुन्।
उनले जनज्योति माध्यमिक विद्यालय, अर्घाखाँचीबाट माध्यमिक तह, भारतको सोहरतगणस्थित शिवपती इन्टर कलेजबाट प्रमाणपत्र तह तथा त्रिभुवन बहुमुखी क्याम्पस, पाल्पाबाट स्नातक तहको अध्ययन पूरा गरेका छन्। २०५५ सालदेखि चन्द्रौटालाई आफ्नो कार्यक्षेत्र बनाउँदै आएका उनी अहिले कपिलवस्तुमा राजनीतिक, सामाजिक र व्यवसायिक गतिविधिमा सक्रिय छन्।
बुबाबाट पाएको प्रेरणा आफ्नो राजनीतिक यात्राको प्रेरणाको स्रोतका रूपमा अलिमियाँले आफ्ना बुबालाई सम्झन्छन्। उनका बुबाले अर्घाखाँचीमा कपडा व्यापार गर्नुका साथै तत्कालीन वाङ्गला गाविसमा उपप्रधान तथा कार्यवाहक प्रधानपञ्चका रूपमा जिम्मेवारी निर्वाह गरेको अलिमियाँ बताउँछन्।
पारिवारिक वातावरणबाट प्राप्त सामाजिक र राजनीतिक चेतनाले आफूलाई सार्वजनिक जीवनमा सक्रिय हुन प्रेरित गरेको उनको भनाइ छ।
अब केन्द्रीय नेतृत्वमा अनुभव प्रयोग गर्ने लक्ष्य
विद्यार्थी संगठन, पार्टी राजनीति, उद्योग–व्यवसाय, उद्योग वाणिज्य क्षेत्र र सामाजिक गतिविधिमा लामो समय बिताएका अलिमियाँले अब आफ्नो अनुभवलाई कांग्रेसको केन्द्रीय तहमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका छन्।
मुस्लिम कोटाबाट दुई केन्द्रीय सदस्य पदका लागि हुने प्रतिस्पर्धामा उनको उम्मेदवारी परेको हो। अलिमियाँले रोजगारी सिर्जना, निजी क्षेत्रको प्रवर्द्धन, युवा सहभागिता, उद्यमशीलता र सामाजिक सद्भावलाई आफ्नो प्राथमिकताका विषयका रूपमा अघि सारेका छन्।
उनको दाबीअनुसार, बदलिँदो समयअनुकूल कांग्रेसलाई थप समावेशी, आर्थिक रूपमा व्यावहारिक र सबै समुदायलाई जोडेर अघि बढ्ने पार्टीका रूपमा सुदृढ बनाउन आफूले भूमिका निर्वाह गर्न सक्छन्।
चार दशकअघिको विद्यार्थी राजनीतिबाट सुरु भएको यात्रा, पार्टी संगठनमा निरन्तर संलग्नता र निजी क्षेत्रको नेतृत्वदायी अनुभवपछि जमशेर अलिमियाँको अबको राजनीतिक लक्ष्य कांग्रेसको केन्द्रीय नेतृत्वमा प्रवेश गर्नु बनेको छ।
१५औँ महाधिवेशनमा मुस्लिम कोटाबाट हुने निर्वाचनले उनको लामो राजनीतिक तथा व्यवसायिक यात्रालाई केन्द्रीय संगठनमा प्रतिनिधित्वमा परिणत गर्छ कि गर्दैन भन्ने निर्णय महाधिवेशन प्रतिनिधिहरूको मतबाट हुनेछ।