काठमाडौं । राष्ट्रिय चलचित्र दिवसको अवसरमा नेपाल चलचित्र कलाकार संघले नेपाली चलचित्र इतिहासको पहिलो चलचित्र ‘आमा’ का तीन अग्रणी नायिका भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई विशेष सम्मान गरेको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्रको प्रारम्भिक यात्रा, पहिलो पुस्ताका कलाकारको योगदान तथा चलचित्रका गीत–संगीतको महत्वबारे चर्चा गरिएको थियो। कार्यक्रममा ‘आमा’ चलचित्रसँग जोडिएका अग्रज कलाकारलाई सम्मानपूर्वक प्रमुख अतिथिका रूपमा सहभागी गराइएको थियो।
संघका अध्यक्ष उत्तम केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुवन चन्द थापा, चैत्यदेवी सिंह र वसुन्धरा भुसाललाई अध्यक्ष केसी र महासचिव सुनिल कटुवालले खादा, माला तथा दोसल्ला ओढाएर सम्मान गरे। तीनै अग्रज कलाकार र अध्यक्ष केसीले संयुक्त रूपमा दीप प्रज्वलनसमेत गरेका थिए।
कार्यक्रममा विमल भौकाजीको सम्पादनमा प्रकाशित ‘शारदा’ पत्रिकाको विशेष सामग्री समेत विमोचन गरिएको थियो। उक्त सामग्रीमा नेपाली चलचित्रका गीत तथा गीत–संगीतको इतिहास र योगदानलाई समेटिएको छ। पुराना चलचित्रका गीत–संगीतको संरक्षण र अभिलेखीकरण गर्नुपर्ने विषयमा पनि कार्यक्रममा जोड दिइएको थियो।
कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठ, कलाकार लय संग्रौला, नेपाल चलचित्र संघका कार्यवाहक अध्यक्ष गोपालकाजी कायस्थ, संघका पूर्वअध्यक्ष तथा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौला, विमल भौकाजी, लव प्याकुरेललगायतले नेपाली चलचित्रको इतिहास र ‘आमा’ चलचित्रको योगदानबारे धारणा राखेका थिए।
वक्ताहरूले सीमित स्रोतसाधनका बीच पहिलो पुस्ताका कलाकार तथा प्राविधिकले नेपाली चलचित्रको जग निर्माणमा पुर्याएको योगदानको स्मरण गर्दै त्यसलाई नयाँ पुस्तासम्म पुर्याउनुपर्नेमा जोड दिए। विशेषगरी ‘आमा’ नेपाली चलचित्रको विकासक्रमको महत्वपूर्ण आधार भएकाले यससँग जोडिएका कलाकार तथा सिर्जनाकर्मीको योगदानलाई संरक्षण गर्नुपर्ने उनीहरूको भनाइ थियो।
कार्यक्रममा ‘आमा’की अग्रणी नायिका वसुन्धरा भुसालले नेपाली चलचित्रको प्रारम्भिक समयका संघर्ष र अनुभव स्मरण गरिन्। अध्यक्ष उत्तम केसीले अग्रज कलाकारको सम्मानसँगै नेपाली चलचित्रको इतिहास संरक्षणका लागि कलाकार संघले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए।
कार्यक्रममा मनोज आचार्य, पुजना प्रधान गुरुङ, लव्ली संगम राई, पुकार भट्टराई, अन्जु रञ्जित, माडिक रत्न, दीपेन्द्र तिमिल्सिना, उत्सव केसी, सुपा खनाल, देवेन्द्र पाण्डे, नीरज खुलाल, राज टाइगर, अमर वली, जीवन थापा, गीता अधिकारी, सानु श्रेष्ठलगायत कलाकार तथा चलचित्रकर्मीको सहभागिता थियो।