काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय हितभन्दा बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको बताउनु भएको छ ।
शनिबार काठमाडौंमा आयोजित विद्युत् विधेयक २०८० अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नहुने बताउनुभयो ।
अहिले देशमा राष्ट्रिय हित भन्दा पनि बढी सत्ता स्वार्थको प्रवृत्ति हावी भएको भन्दै उहाँले कानुनको अपव्याख्या गरेर व्यक्तिले अनुचित लाभ लिने र राष्ट्रलाई नोक्सान हुने काम गर्न नदिन सजग रहनु पर्ने बताउनु भयो । अध्यक्ष ओलीले विद्युत् विधेयक एमाले केन्द्रित नभएर देश केन्द्रित भएको दाबी गर्नुभयो ।
अध्यक्ष ओलीले विधेयकबारे संसदमा आफूहरु प्रतिपक्षको भूमिकामा भन्दा पनि राष्ट्रको पक्षमा रहेर राम्रो छलफल गर्ने बताउनु भयो । विधेयकले विद्युत विकासको आकांक्षा उत्पादन र त्यसको बिक्रीका सबै प्रक्रियामा नेपाललाई नोक्सान नहुने उहाँको भनाइ छ ।