काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले माघको दोश्रो साता राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थपलियाले माघको १०, ११, १२ मध्ये कुनै उपयुक्त समयमा राष्ट्रियसभाको निर्वाचन गर्ने तयारी भइरहको जानकारी दिनुभएको हो । निर्वाचनको मिति सरकारले तोक्नुपर्ने भएकाले आयोग तयारी अवस्थामा बसेको उहाँले बताउनुभयो ।
उहाँले केहि स्थानमा बैंशाखमा उपनिर्वाचन गर्ने गरि छलफल थालेको जानकारी दिनुभयो । थपलियाले निर्वाचनसम्बन्धी प्रस्तावित नयाँ कानूनमा मौन अवधि हटाइएको र निर्वाचन हुनुभन्दा २४ घण्टा अगाडी प्रचारप्रचार गर्न निषेध गर्ने उल्लेख गरिएको जिकिर गर्नुभयो ।
निर्वाचनमा महिला प्रतिनिधित्वलाई प्राथमिकता दिन आवश्यक व्यवस्था गरिएको उहाँले बताउनुभयो । थपलियाले अव योग्यता सम्बन्धी व्यवस्था गरिएको र महोत्तरी र मनाङको अवस्था नदोहरिने जानकारी दिनुभयो ।
उहाँले समानूपातीक सूचि पेश गरिसकेपछि संशोधन गर्न नमिल्ने गरि व्यवस्थीत गरिएको धारणा राख्नुभयो । विदेशमा बस्ने नेपालीहरुको मताधिकारका लागि नामावली संकलन गरिने र अनलाईनबाट भोटिङ गर्न सक्ने गरि ऐन निर्माण गरिएको उहाँले बताउनुभयो ।
बैठकमा समिति सदस्यहरुले समानुपातीक निर्वाचन प्रणाली, महिला उम्मेद्वारहरुको सुनिश्चितता, मतदाता नामावली अध्यावधिक लगाएतका बिषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका थिए । समिति सदस्य एवं रास्वपा सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएको बताउनुभयो ।
उहाँले अहिले दलहरुले समानूपातीक सूचिमा शक्तिशालीको प्रभाव देखिएकाले निर्मम समिक्षा गर्नुपर्ने धारणा राख्नुभयो । लामिछानले मतदाता नामावलीको अध्यावधिक हुन नसकेको बताउनुभयो ।
त्यस्तै समिति सदस्य पृथ्वीसुव्वा गुरुङले मतदाता नामावली अध्यावधिक नहुदा मृत्यु भएका व्यक्तिको नाममा मतदाता परिचय पत्र आउने र नामावली दोहरीने बिषयमा आयोगले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले निर्वाचनलाई विश्वसनिय र कम खर्चिलो गर्ने भन्ने बिषयमा ध्यान दिनुपर्ने र मौन अवधिका कारण हुने गतिविधिलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै अन्य समिति सदस्यहरुले निर्वाचन विधेयक बनाउदा निकै ध्यान दिएर छलफल गर्नुपर्ने धारणा राखेका थिए भने निर्वाचन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने बताएका थिए ।