काठमाडौँ । संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले संसदको बजेट अधिवेशन बिहीबार राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको भौतिक पुर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन अन्त्य गर्ने व्यवस्था छ ।
यस्तै सरकारले रिक्त दुई सचिवमा राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई बढुवा गरेको उहाँले बताउनुभयो । निजामती सेवाका सचिवहरु डा. दामोदर रेग्मी र अर्जुनजंग थापा उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि वरिष्ठताका आधारमा अर्याल र पुडासैनीलाई सचिवमा बढुवा गरिएको उहाँको भनाइ छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बजारमा कृत्रिम अभाव सिर्जना गरी चिनीको मूल्यवृद्धि गर्ने र उपभोक्ताहरुलाई सास्ती दिने काम भइरहेकोप्रति सम्बन्धित मन्त्रालयलाई अनुगमन, नियन्त्रण र कारबाही गर्न निर्देशन दिनुभएको मन्त्री ज्वालाले बताउनुभयो ।