Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण


१६, कात्तिक २०८०
  • 120
    SHARES
  • संसदमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
    काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले चाडपर्वमा खाद्यान्नको आपूर्ति, सडक मर्मत, कृषि उत्पादनको बजारीकरणलगायत  समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
     
    बैठकको शून्य समयमा सांसद बिजुला रायमाझीले नेपालमा उत्पादन हुने दूध, दूधजन्य पदार्थ र माछामा आत्मनिर्भर हुँदै भारतीय आयातालाई रोक्न तथा नेपाली उत्पादनलाई प्रर्वधन गर्न माग गर्नुभयो । उहाँले नेपाली किसानले उत्पादन गरेको दूध, माछालगायत बस्तुको उचित मूल्य निर्धारण गर्न र उखु किसानको समस्या समाधान गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
    सडक सुरक्षा परिषद् गठन गर्न माग
     
    सांसद विद्या भट्टराईले सडक दुर्घटना नियन्त्रणका लागि छुट्टै नियमनकारी निकायका रुपमा सडक सुरक्षा परिषद् निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
         
    उहाँले विश्वमा अकाल मृत्युको आठ कारणमध्ये नेपालमा पहिलो कारण सडक दुर्घटना बनेको छ भन्दै यस्ता दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन योजना ल्याउन माग गर्नुभयो ।
         
    नेपालमा आ.व २०७९/८०को तथ्याङ्कअनुसार दुई हजार तीन सय २० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको र २८ हजार एक सय ५६ घाइते भएका छन् । असुरक्षित मापदण्डविहीन सडक, सवारीसाधनको गुणस्तर मापनमा कमजोरी र चालकको लापरवाहीका कारण दुर्घटनाबाट नागरिकका जीवन क्षति हुनु एक नियति नै बनेको सांसद भट्टराईको भनाइ थियो ।
         
    सांसद विनिताकुमारी सिंहले माइतीघर मण्डलामा आरती साहको न्यायको लागि सङ्घर्षरतहरूको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला थिङ्गले आरती साहको मृत्यु प्रकरण पेचिलो बन्दै गएको र मृतकका परिवारले न्याय पाउनुभन्दा उल्टै अन्यायमा परेकाले उक्त घटनाका सम्बन्धमा तत्काल छानबिन समिति गठन गर्न जोड दिनुभयोे ।
         
    सांसद बीना लामाले नजिकिएको तिहारमा चिनीको अभाव हुन नदिन र सुपथ मूल्यमा जनतालाई चिनी उपलब्ध गराउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
    नेपाली विद्यार्थीको उद्धार गर्न माग    
     
    सांसद विश्वप्रकाश शर्माले नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको र उनलाई कतार सरकारमार्फत कुरा गरेर उद्धार गर्न सकिने भएकाले यो प्रक्रियामा पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
         
    उहाँले भारत, बङ्गलादेश र भूटान तीन देशसँग निकट रहेको सीमानाका काँकडभिट्टामा पर्यटकको आवागमनलाई सहज बनाउनका लागि भारत सरकारसँग कुरा गरेर सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद श्यामकुमार घिमिरेले संसद्लाई प्रभावकारी ढङ्गले सञ्चालन गरिनुपर्नेमा जोड दिनुभयो ।
         
    सांसद शान्ति विकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गरी कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद शिव नेपालीले देशभरका पर्यटकीय क्षेत्रलाई प्राथमिकतामा राखेर पर्यटन प्रर्वधन गरिनुपर्ने, व्यवसायमैत्री पर्यटकीय पूर्वाधार विकास गरिनुपर्नेमा जोड दिनुभयो ।
         
    सांसद शेरबहादुर कुँवरले हालैको असिना पानीले सुदूरपश्चिम भेगमा किसानले लगाएको बालिनालीमा क्षति पुर्‍याएकाले पीडित कृषकलाई राहत उपलब्ध गराउन माग गर्नुभयो ।
         
    सांसद शोभा ज्ञवालीले समाजमा गलत भ्रम फैलाउने तत्वलाई कानुनी दायरामा ल्याउन जोड दिनुभयो । सांसद सन्तोष चालिसेले बजेटमा व्यवस्था भएअनुरुप सडक र पुलपुलेसाको मर्मत प्रभावकारी हुन नसकेको गुनासो गर्नुभयो ।
         
    सांसद सरस्वती बजिमयले आरती साहको मृत्यु प्रकरणबारे छानविन गर्न, उनको न्यायका लागि कानुनी प्रक्रिया अबलम्बन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सरिता भुसालले नेपाली घिउको माग अन्तर्राष्ट्रिय बजारमा बढिरहेकाले निर्यात प्रर्वधनका लागि ध्यान दिन आग्रह गर्नुभयो ।
         
    सांसद शान्ति चौधरीले बजारमा चिनिलगायत खाद्यवस्तु अभाव हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद सुशीला श्रेष्ठले यही कात्तिक ६ गते भोजपुरको आमचोकमा दिपचन्द्र राईद्वारा सात वर्षीया बालिकाको बलात्कार र हत्या भएको, कात्तिक ८ गते मुगुरासा नपा–५ स्थित मुन्दु गाउँमा तीन जनाको सामूहिक हत्या भएकाले यस्ता घटनाको चाँडो अनुसन्धान गरी दोषीलाई कारबाही गर्न र आगामी दिनमा त्यस्ता आपराधिक गतिविधि हुन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
         
    सांसद हितराज पाण्डेले संसद्को दोस्रो अधिवेशन सकिँदै गर्दा आआफ्नो कामको समीक्षा गर्न जरुरी रहेको बताउनुभयो । उहाँले गोरखाको च्याङ्लीमा कृषि क्याम्पस सञ्चालन गर्ने निर्णय लामो समयदेखि भए पनि अझै स्थापना नभएकामा चिन्ता व्यक्त गर्दै यसप्रति ध्यान दिन आग्रह गर्नुभयो । 
     
    सांसद सोविता गौतमले चाडपर्वको समयमा बजार व्यवसाय चलायमान नभएको, व्यवसायीले आफ्नो सामान बेच्न नसकेको र उपभोक्ताले महँगो सामान किन्न नसकेको अवस्थामा यसको दीर्घकालीन समाधानका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
     
    बाराक्षेत्र पुग्ने सडक मर्मत गर्न माग
     
    सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीको प्रसिद्ध मन्दिर बाराक्षेत्र मन्दिर पुग्ने सडकखण्डअन्तर्गत चतारा कोशी पुलदेखि मन्दिरसम्म करिब तीन किलोमिटर सडकको अवस्था दयनीय रहेकाले दर्शनार्थीलाई मन्दिर पुग्न निकै सास्ती भएकाले यथाशीघ्र सडक मर्मतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । 
     
    सांसद कार्कीले नेपाल मात्र नभई छिमेकी मुलुक भारतबाट पनि उल्लेख्य सङ्ख्यामा भक्तजन आउने गरेकोले उक्त क्षेत्रको सडक मर्मत गरी दर्शनार्थीलाई सहज आवतजावतको वातावरण बनाउन माग गर्नुभयो ।
     
    सांसद हरि ढकालले किसानले उत्पादन गरेको फूलको स्वदेशमै खपत र प्रर्वधनका लागि सहजीकरण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसदहरु सुमना श्रेष्ठ, सुनिता बराल, सूर्य थापा, सूर्यप्रसाद ढकाल, हेमराज राई, सीताकुमारी राना, सोनु मुर्मुलगायतले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो । 

  • अर्घाखाँची कांग्रेसको निर्वाचन सम्पन्न : मतपेटिका प्रहरी कार्यालयमा सुरक्षित

    असोज १३ गते बिहान ११ बजेदेखि मतगणना अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा प्रदेशसभा प्रतिनिधि

  • अर्घाखाँची कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन, ‘एकताबद्ध कांग्रेसले नयाँ ऊर्जा दिनुपर्छ’: पुष्पा भुसाल

    अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीको १५औँ महाधिवेशनअन्तर्गतको जिल्ला अधिवेशन उद्घाटन गरिएको छ। नेपाली कांग्रेसकी उपसभापति

  • कांग्रेसको क्षेत्रीय अधिवेशन आज १३ जिल्लामा, केन्द्रीय नेतादेखि युवासम्म उम्मेदवार मैदानमा

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संघीय निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशन आज

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend