काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेशका नेताहरूलाई काठमाडौँमा घर बनाउने पैसा कहाँबाट आयो भनेर प्रश्न गर्नुभएको छ । शुक्रबार वीरगञ्जमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले जनता साहुको ऋण तिर्न नसकेर छटपटाइरहँदा मधेसका नेताहरू भने हाछ्युँ आउँदा पनि महँगा अस्पतालमा गएर उपचार गराउने गरेको बताउनुभयो ।
‘आफूलाई खुंखार मधेशवादी भन्नेहरू आज आफूलाई हाछ्युँ आउँदा पनि देशको महँगा अस्पतालमा कसको पैसाले उपचार गराउँछन् मलाई थाहा छैन,’ उहाँले भन्नुभयो, ‘कहाँबाट आएको पैसाले काठमाडौँमा पनि आफ्नो र लुकाइलुकाइ आफन्तको नाममा र विदेशमा समेत घर जग्गा व्यापार व्यवसाय कसरी जोडेका छन् मलाई थाहा छैन। तर, मधेशका जनता आज छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन नसकेर साहुको ऋण तिर्न नसकेर छटपटाइरहेका छन्।’
मधेशको मुहार फेर्छु भन्ने मधेसका नेताले आफ्नो र छोराछोरीको मुहार फेरेको तर जनताको मुहार फेर्न भने नसकेको लामिछानेको भनाइ थियो । रास्वपाले एक पटक बहुमतको सरकार बनाउन पाए संसारको जुनसुकै कुनामा लुकाएको कालोधनलाई बाहिर ल्याएरै छाडने दाबीसमेत उहाँले गर्नुभयो ।