काठमाडौँ । नेपाली काँग्रेसकी सांसद डा. आरजु राणा देउवाले पार्टीको महासमिति बैठकमा पार्टीमा महिला पदाधिकारीको बारेमा आवाज उठाउने बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित नेपालको राजनीतिमा महिला नेतृत्वकर्ताहरुको रूपान्तरित नेतृत्व परियोजना विषयक गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्ने कुरा आफूहरूले केन्द्रीय समितिमा राखिसकेको र पार्टीका आसन्न महासमिति बैठकमा पनि राख्ने बताउनुभयो ।
उहाँले पार्टीको पदाधिकारीमा सहमहामन्त्रीमा पदमा एकजना मात्रै महिला राखेको र उपसभापति, महामन्त्रीमा नराखिएकोप्रति असन्तुष्टि जनाउनुभयो। उहाँले पार्टीका विभागहरूमा महिलालाई ३३ प्रतिशत अधिकार र नेतृत्व नदिइएकोप्रति पनि असन्तुष्टि जनाउनुभयो।
उहाँले आफूहरू पार्टीका विभागहरू भोट हाल्न मात्रै बसेको हो ? भन्दै प्रश्न गरिन्। उहाँले संविधान नै संशोधन गरेर भए पनि ३३ प्रतिशत महिलाको अधिकार हरेक ठाउँमा दिनुपर्ने बताउनुभयो। उहाँले ३३ प्रतिशत महिलाको अधिकारबाट प्रत्यक्ष चुनाव लड्ने ठाउँ अब बनाउनुपर्ने बताउनुभयो। सांसद राणाले सबै ठाउँमा महिला/महिलाबीच प्रतिस्पर्धा गर्ने स्थान हुनुपर्ने उल्लेख गर्नुभयो ।