काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतसँग लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले भेटवार्ता गरेका छन् ।
बुधबार सिंहदरबारमा मन्त्री थापाले अर्थमन्त्री डा.महतसँग भेट गरेर लुम्बिनी प्रदेश सरकारको बजेट वृद्धि र आफ्नो गृहजिल्ला प्यूठानको विकासका विषयमा परामर्श गरेका छन् । अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका जिल्लाहरूको विकासमा केन्द्र सरकारले आवस्यक पर्ने बजेट दिन तयार रहेको आश्वासन दिएका छन् ।
मन्त्री थापाले भने, ‘अर्थमन्त्री डा.प्रकाशशरण महतज्यूले लुम्बिनीको विकासमा निकै चासो देखाउनुभएको छ । बजेटमा पनि सहयोग गर्ने बताउनुभएको छ । प्यूठान जिल्लाको विकासमा पनि थप बजेट दिएर सहयोग गर्ने आश्वासन दिनुभएको छ । '
बाग्दुला–भीमगिठे सडक खण्डका विषयमा पनि अर्थमन्त्री डा.महतले लुम्बिनी प्रदेशका यातायात व्यवस्था मन्त्री थापासँग चासो राखेका थिए ।
यातायात व्यवस्था मन्त्री थापाले प्यूठानको बाग्दुलादेखि बागलुङको भीमगिठे सडकका विषयमा पनि परामर्श गरेका छन् । यो सडक निर्माणका लागि भारत सरकारले सहुलीयत ऋण दिएको छ । सडक निर्माणका लागि ईच्छुक निर्माण कम्पनीहरूसँग प्रावधिक सूचीका लागि ४५ दिनको सूचना जारी गर्ने तयारीमा रहेको अर्थमन्त्री डा.महतले मन्त्री थापालाई जानकारी गराएका थिए ।