काठमाडौँ । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले पार्टीभित्र गुटका नाममा आफैमा बाझ्ने काम नगर्न नेताहरूलाई अनुरोध गर्नुभएको छ ।
नेतृ देउवाले नेताहरू आफैँमा बाझ्दा पार्टीलाई क्षति भइरहेको बताउनुभयो । ‘हामी काँग्रेसमा रहेर बाहिर इम्प्रेसन दिन्छौँ कि हामी बाझेको बाझ्यौ हुन्छौँ, त्यो राम्रो इम्प्रेसन होइन, भोट हाम्रै काटिन्छ’, उहाँले भन्नुभयो, ‘कोही न कोही विभिन्न गुटको नेता होला, तर जहिले पनि आफैमा बाझ्ने पार्टी भनेर सबैतिर भोट काटिदिरहेको हुन्छ, त्यसकारण त्यसो नगरिदिनुस् । तपाईँहरू आपसमा कार्यसमितिमा बस्नुस् र निष्कर्षमा पुग्नुस् ।’
प्रदेशहरूमा भइरहेका पार्टीका कार्यक्रममा देखिएको विवादतर्फ संकेत गर्दै केन्द्रीय सदस्य देउवाले भन्नुभयो, ‘हामी पटक पटक जनतामाझ गएर विभिन्न कार्यक्रम गरिरहेका छौँ । कहिले कहिले कार्यक्रम गर्दा अफ्ठेरो पर्न आएको सुन्नमा आयो । तर यो घरभित्रकै अफ्ठेरो भएकाले बसेर सुल्झाउन सकिन्छ । जति पनि पार्टीका सिनियर नेताहरू हुनुहुन्छ, हाम्रो लागि एकदमै महत्त्वपूर्ण हुनुहुन्छ ।’
केन्द्रीय सदस्य देउवाले बालकुमारी घटनाको जिम्मेवार दलहरू नै रहेको बताउनुभयो। मारिएका युवाको घरायसी अवस्था र जाँच दिन नपाउँदै ज्यान गुमाउनुपरेको अवस्थाले आफू दुःखी भएको भन्दै उनले सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो।
जहिले पनि केही हुँदैन भनेर निराशाको भाष्य बनाउने भन्दा आशा जगाउने काम गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद देउवाले विधेयकहरूमा संशोधन हाल्दा पार्टीको नीति र संविधान अनुरूप हाल्न सांसदहरूलाई सुझाव दिनुभयो।