Logo

Sep 29 2026 | २०८३, असोज १३गते

  • अहिले चर्चामा :

लोकप्रिय

लोकप्रिय

कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै


१६, पुस २०८०
  • 131
    SHARES
  • कांग्रेसले आज मेलमिलाप दिवस मनाउँदै

    काठमाडौँ । नेपाली कांग्रेसले आज ४८औँ मेलमिलाप दिवस मनाउँदै छ । पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (बिपी) लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किनुभएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ ।
     
    कांग्रेसले आज देशभर विभिन्न कार्यक्रम गरी ४८औँ मेलमिलाप दिवस मनाउँदैछ । यस वर्ष कांग्रेसले सङ्घीय राजधानी काठमाडौँमा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विशेष कार्यक्रम गरी मनाउन लागेको पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले राससलाई जानकारी दिनुभयो ।
     
    आज दिउँसो १ बजे काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा भव्य रुपमा आयोजना हुने उक्त कार्यक्रममा लोकतान्त्रिक आन्दोलनमा योगदान पु¥याएका तथा बृहत् शान्ति सम्झौताका पक्षधर विभिन्न राष्ट्रिय राजनीतिक दलका शीर्ष नेताको उपस्थिति रहने प्रमुख विश्वकर्माले बताउनुभयो । 

    मुलुकको सार्वभौम सत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहनुभएका बिपीको नेतृत्वमा सर्वोच्च नेता गणेशमान सिंह, नेत्री शैलजा आचार्य, खुमबहादुर खड्का, रामबाबु प्रसाईं, नीलाम्बर पन्थीलगायतका नेताहरु मेलमिलापको नीति लिई करिब आठ वर्ष लामो निर्वासित जीवनपछि भारतबाट २०३३ पुस १६ गते स्वदेश फर्किनुभएको थियो ।
     
    भारतमा निर्वासनमा रहँदा सिक्किम भारतमा विलय भएको, पाकिस्तानबाट बङ्गलादेश अलग्गिएको र एसियाका अन्य देशमा पनि विखण्डन सुरु भएको देखेपछि बिपीलगायत नेताहरु देशको सार्वभौमसत्ता रक्षाका लागि ज्यानको बाजी थापेर स्वदेश फर्किनुभएको थियो । दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै स्वदेश फर्किनुभएका बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राख्नुभएको थियो ।
     
    स्वदेश फर्किनुभएका नेता कोइराला, गणेशमान सिंहलगायतलाई त्रिभुवन विमानस्थलमा विमानबाट ओर्लिने बित्तिकै सुन्दरीजलमा लगी बन्दी बनाइएको थियो । तत्कालीन राजा महेन्द्र शाहले २०१७ पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभएको थियो । 
     
    शाही ‘कु’पछि कांग्रेस नेताहरुलाई करिब तीन महिना सिंहदरबारमा बन्दी बनाई सोही वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी सुन्दरीजल बन्दीगृह बनाएर स्थानान्तरण गरिएको थियो । नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका कांग्रेस नेताहरु राष्ट्रियतामाथि खतरा देखिएपछि प्रवास जीवन त्यागेर स्वदेश फर्किनुभएको थियो ।

    विसं २०३४ जेठ २७ गते उपचारपछि फिर्ता भई कारागारमा फर्कने गरी कोइरालालाई रिहा गरिएको थियो । एकपटक सुन्दरीजल बन्दीगृह फर्काइपछि प्रहरी तालिम केन्द्र महाराजगञ्जमा उहाँलाई बन्दी बनाइएको थियो । नेपालमा बिपीले प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण अहिले पनि उत्तिकै सान्दर्भिक र अपरिहार्य छ । 

    प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका जननायक बिपीले राजनीति मात्र होइन, नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएको छ । बिपीका साहित्य सन्देशले समाज परिवर्तनमा ठूलो सहयोग पुर्‍याएको छ । सुन्दरीजलको बन्दीगृहमा बसेकै बेला बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्र्रह, ‘सुम्निमा’, ‘बाबुआमा र छोरा’, ‘तीन घुम्ती’, ‘मोदिआइन’ र ‘हिटलर र यहुदी’ उपन्यास, ‘आफ्नो कथा’ (आत्मजीवनी) तथा जेल बस्दाको दैनिकी (पछि ‘जेल जर्नल’ लेख्नुभएको थियो ।
     
    बन्दीगृहमा बस्नुअघि २००८ सालमा बिपीको ‘दोषी चश्मा’ कथासङ्ग्रह प्रकाशन भएको थियो । कोइराला राजनेताका साथै नेपाली आख्यानमा यौन मनोवैज्ञानिक धाराको प्रवर्तकका रूपमा चिनिनुहुन्छ । मेलमिलाप नीति लिई फर्केपछि फेरि सुन्दरीजल बन्दीगृहमा बन्दी बनाइएपछि लेखिएको बिपीको दैनिकी पनि ‘फेरि सुन्दरीजल’ नामबाट प्रकाशित भएको छ । चौबीस रोपनी क्षेत्रफलमा फैलिएको सुन्दरीजल बन्दीगृहलाई २०६१ भदौ २४ गते बिपी सङ्ग्र्हालयका रुपमा परिणत गरिएको हो ।

  • अर्घाखाँची कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचन : मतगणनाका लागि सर्वपक्षीय सहमति, यस्ता छन् मुख्य व्यवस्था

    अर्घाखाँची । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अर्घाखाँचीमा सम्पन्न प्रदेशसभा प्रतिनिधि तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनपछि

  • हिमलुङ हिमपहिरोमा १२ जना अझै बेपत्ता, उद्धारमा उच्च जोखिम

    काठमाडौं । मनाङको नार्फाभूमि गाउँपालिका५ स्थित हिमलुङ क्षेत्रमा गएको हिमपहिरोमा परी चार जनाको मृत्यु पुष्टि

  • सिक्टा सिँचाइ विस्तार तीव्र : किसानको खेतसम्म पानी पुर्‍याउन गुरुवागाउँ शाखा नहर निर्माण अघि बढाइँदै

    बाँके । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनाले किसानको खेतसम्म सिँचाइ सुविधा विस्तार गर्ने कामलाई तीव्रता

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend