काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्वराजदूतहरू बीच छलफल गर्नुभएको छ । मन्त्री साउदले भारतीय विदेशमन्त्री एस जयशंकरको आगामी नेपाल भ्रमणको तयारीका सिलसिलामा सो छलफल गर्नुभएको हो।
छलफलका क्रममा पूर्वपरराष्ट्र मन्त्री, पूर्वपरराष्ट्र सचिव र भारतका लागि पूर्व राजदूतहरूले भारतसँगको नेपालको सम्बन्ध महत्त्वपूर्ण रहेको भन्दै सम्बन्धलाई मित्रवत्, सुमधुर र पारस्परिक हितमा आधारित साझेदारीका रूपमा अगाडि बढाउँदै लैजानु पर्ने सुझाव दिनुभएको छ ।
बढ्दो व्यापार घाटाका सम्बन्धमा भारतमा नेपालको निर्यात वृद्धिका उपाय पहिल्याउनु पर्ने, विद्युत् व्यापारलाई विस्तार गर्नुपर्ने, क्रस बोर्डर पूर्वाधार सुदृढ गर्नुपर्ने, विगतमा थालिएका विकास आयोजनाहरू समयमै सम्पन्न गर्न जोड दिनुपर्ने, हवाई रुट लगायतका विषय सम्बोधन गर्नुपर्ने लगायत विषयमा पूर्वपरराष्ट्रमन्त्री, सचिव तथा राजदूतहरूले सुझाव दिनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको छलफलमा पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापा, पूर्वपरराष्ट्र सचिवहरू मधुरमण आचार्य, अर्जुन थापा, दुर्गा भट्टराई, भरत पौडेल, पूर्वराजदूत दुर्गेशमान सिंह लगायतको सहभागिता रहेको थियो। भारतीय विदेश मन्त्री जयशंकर यही बिहीबार नेपाल आउँदै छन्।