काठमाडौँ । नेकपा (एमाले) का प्रभावशाली नेता आनन्द पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको बताउनुभएको छ ।
आज (शनिबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान सरकार आर्थिक, राजनीतिक, कूटनीतिक, पर्यटन र विकास, देशमा शान्ति सुरक्षा, अमनचयन सबै हिसाबले असफल भएको बताउनुभएको हो ।
‘यो मुलुकमा एक वर्षभित्रमा राजनीतिक अस्थितरता र राजनीतिक अराजकता रह्यो । सामाजिक सद्भाव र सामुदायिक हितको प्रश्न कमजोर रह्यो । आर्थिक रुपमा असफलता भयो ।’ उहाँले भन्नुभयो, ‘शान्ति सुरक्षाको स्थिति अत्यन्त दयनीय भयो । विकास निर्माण ठप्प भयो । संविधानमा पनि चुनौति रह्यो ।’
नेता पोखरेलले एमालेले मुलुकमा विकास र समृद्धि तथा छिमेकीसँग राम्रो सम्बन्ध होस् भन्ने चाहेको बताउनुभयो । उहाँले छिमेकीसँगको राम्रो सम्बन्ध बनाउने क्रममा अन्तराष्ट्रिय भू–राजनीतिको केन्द्रविन्दु नेपाल नहोस् भन्ने एमालेको चाहना रहेको बताउनुभयो ।
मुलुक जनसंख्या, भूगोल र आकारमा सानो ठूलो भएपनि देशको सार्वभौमसत्ता अखण्डता, स्वाभिमानमा सबै राष्ट्र समान हुनुपर्ने उहाँको भनाई छ ।
‘मुलुक जनसंख्या, भूगोल र आकारमा सानो ठूलो हुनसक्छ । गरिब र धनीमा पनि फरक हुनसक्छ । तर, सार्वभौमिकता, अखण्डता, स्वाभिमानमा सबै मुलुक बराबरी हो भन्ने हाम्रो ठम्याई हो, मेरो ठम्याई हो,’– उहाँले भन्नुभयो
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताहरु नेपालको हितविपरीत रहेको उहाँको टिप्पणी छ ।
उहाँले सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने गरी वर्तमान सरकारले भारतसँग सम्झौता गरेको भन्दै आपत्ति जनाउनुभयो । ठूलो छिमेकी राष्ट्र भारतले सानो भाइको रुपमा व्यवहार गरेको उहाँको टिप्पणी छ ।
‘अहिले जुनढंगले भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले नेपालको जलस्रोतको क्षेत्रमा, अन्य भौतिक पूर्वाधारको क्षेत्रमा अत्यन्त ढोका खुलेको छ ।
यो माइलस्टन भनेर चर्चा गरिएको छ ।’ उहाँले भन्नुभयो, ‘तर, म वाक्यमा भन्न चाहन्छु– यो सम्झौता १९५० को नेपाल–भारत सन्धिको एउटा निरन्तरता, ठूलो छिमेकी राष्ट्र भारतको सानो भाइको रुपमा व्यवहार गर्ने, एउटा सार्वभौम मुलुकलाई सिधै दूतावासमार्फत मागेर योजना लिने यो सरकारले सम्झौता गरेको छ ।
१९५० देखि अहिलेसम्म आइपुग्दा हिजोको भारतको नेपाललाई हेपाहा र मिचाहा प्रवृत्ति थियो, नेपालको सार्वभौमिकतामा हस्तक्षेप गथ्र्यो ।’
भारतले नेपालमाथिको हस्तक्षेप कायमै राख्नका लागि नयाँ सम्झौतासहित नेपाललाई कमजोर बनाउनेगरि सम्झौता गरेको उहाँको आरोप छ । भारतले आजसम्म कुनैपनि सहयोग निःशर्त नरहेको उहाँले बताउनुभयो । उहाँले भारतीय दूतावासमार्फत नेपाली जनतालाई धु्रवीकरण गर्न खोजिएको आरोप लगाउनुभयो ।
‘अहिलेको गठबन्धन सरकार राष्ट्रघाती सरकार हो । भारतसँग आत्मसमर्पण गरेको छ,’–नेता पोखरेलले भन्नुभयो । भारतसँग विद्युतको क्षेत्रमा कुनै ठूलो सम्झौता गर्न सकेको छैन । भारतले आफ्नै लगानीमा बनेको ७ मेगावाट विद्युत लाने उहाँको दाबी छ । वर्तमान सरकारले भारतसँग गरेको विद्युत व्यापार सम्झौता लज्जास्पद रहेको उहाँले टिप्पणी गर्नुभयो ।
‘कुनै ठूलो क्रान्ति भएको छैन । ७ हजार मेगावाट उसैले बनाएको लैजाने हो । नेपाली जनताले बनाएको र अरु राष्ट्रले बनाएको विजुली किन्नेवाला छैन ।’ उहाँले भन्नुभयो, ‘सार्वभौम सत्ता छिमेकी मुलुकलाई शर्तसहित बिजुली किन्ने सहमति भएको छ । यो जस्तो लज्जास्पद र लम्पसारवादी हो ।’
नेपालमो सबैभन्दा कमजोर सम्झौता गरेर भारतले नेपालको सार्वभौम सत्तामाथि चुनौति दिएको र यस सम्झौतालाई राम्रो भन्नु गधालाई गाई भन्नु बराबर भएको उहाँको तर्क छ ।
साथै, एमसीसीअन्तर्गतका परियोजना पनि अब नेपालमा नबन्ने उहाँको दाबी छ । एमसीसीमा अहिलेसम्म नेपालकै पैसा खर्च भएको बताउँदै उहाँले अब केही समयपछि अमेरिकाले आइपिएसको सदस्य बन्ने भएमात्रै पैसा दिन्छु भनेर शर्त राख्ने उहाँको दाबी छ ।
‘एमसीसी जे अमेरिकाले गर्न खोजेको थियो, त्यो पूरा भयो । एमसीसी अब बन्दैन । अब पाँच वर्षको समयमा बनेन भने पैसा नदिने भनेको छ ।
अमेरिकाको आइपिएसको के मात्रै धारणा थियो भने नेपाली समाजलाई ध्रुवीकरण गर्नु थियो । ’ उहाँले भन्नुभयो,, ‘नेपालको संसद्लाई ध्रवीकरण गर्नुथियो । त्यो पूरा भएको छ । अब आइपिएसको सदस्य बन्ने भएमात्रै पैसा दिन्छु भन्छ । अहिलेसम्म नेपालको मात्रै पैसा खर्च भएको छ ।’