काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेडका कारण जनतामा निराशा छाएको बताउनुभएको छ।
रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उहाँले राज्यको हरेक अंगमा कब्जा गर्ने चार दलको सिन्डिकेडका कारण जनतामा निराशा छाएको बताउनुभएको हो।
दलहरुको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने नैराश्यपूर्ण धारणाविकास भएको उहाँले बताउनुभयो।
वर्तमान राजनीतिक, सामाजिक र आर्थिक अव्यवस्थाबाट जनता आजित भइसकेको भन्दै उहाँले यस्तो अवस्थामा जनताले सडकबाट परिवर्तन खोज्नु स्वाभाविक भएको जिकिर गर्नुभयो ।
राउतले मधेशका शोषित, उत्पीडित जनताले उनीहरूले न्याय र समान अवसर पाउन सकून भनेर आफ्नो पार्टीलाई विश्वास गरेकाले उनीहरूको माग र आवाजलाई सत्तामा बसेर सम्बोधन गर्न सकिन्छ भन्ने विचारका साथ आफ्नो पार्टी सत्ता गठबन्धनमा सामेल भएको बताउनुभयो ।