काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताको विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आज (बुधबार) बसेको समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनुहुन्थ्यो ।
नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा र भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौता थाहा पाउने अधिकार सबै नागरिकको भएको भन्दै सार्वजनिक गर्न माग गर्नुभएको थियो ।
साथै, प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा र भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणका क्रममा भएका सम्झौता राष्ट्र र जनताको हितमा रहेको बताउनुभएको थियो। उहाँले सरकारलाई सम्झौता सार्वजनिक गर्न कुनै अप्ठ्यारो र आपत्ति नरहेको समेत बताउनुभयो। उहाँले सम्झौता उपलब्ध गराउने प्रतिवद्धतासमेत व्यक्त गर्नुभयो ।
समितिले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएका सम्झौताको सम्पूर्ण विवरण सात दिन भित्र उपलब्ध गराउन भनेको छ । साथै, समितिले नेपाल सन्धि ऐनअनुसार नेपाल सरकार पक्ष भई विभिन्न समयमा गरेका सम्झौता, त्यसको अवस्था लगायतका विवरण उपलब्ध गराउन कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई निर्देशन दिएको छ ।